arrow

आर्टेमिस–२ का चार अन्तरिक्ष यात्री फर्किए घर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
spaceman-nasa.jpg

काठमाडौँ  । मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर फर्किएका आर्टेमिस द्वितीय अभियानका चार अन्तरिक्ष यात्रीहरू ऐतिहासिक रेकर्डसहित शनिबार हर्षोल्लासपूर्ण वातावरणमा घर फर्किएका छन्। गहिरो अन्तरिक्षमा अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा पूरा गरी उनीहरू नासाको ह्युस्टनस्थित केन्द्रमा अवतरण गर्दा स्वागतका लागि ठूलो जमघट भएको थियो। 

सान डिएगोको समुद्री क्षेत्रमा सफल अवतरणपछि उनीहरूलाई त्यहाँबाट उडाएर जोनसन स्पेस सेन्टर नजिकैको एलिङ्गटन फिल्डमा ल्याइएको थियो। अवतरणपछि सबैभन्दा पहिले परिवारसँग भावुक भेटघाट गरेका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, अन्तरिक्ष यात्री क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यानसेनले त्यसपछि स्वागत कार्यक्रममा सहभागी हुँदै आफ्ना अनुभवहरू साटासाट गरेका थिए।

नासाका प्रशासक जारेड इसाकम्यानले उनीहरूलाई औपचारिक रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्दै टोलीप्रति सम्मान व्यक्त गरे। कार्यक्रममा नासाका उच्च अधिकारीहरू, उडान तथा प्रक्षेपण निर्देशकहरू, सैन्य अधिकारीहरू, सांसदहरू र वर्तमान तथा पूर्व अन्तरिक्ष यात्रीहरूको उपस्थिति थियो, जसले वातावरणलाई अझ विशेष बनाएको थियो। उनीहरूको घर फर्काइ एउटा ऐतिहासिक सन्दर्भसँग समेत जोडिएको थियो किनभने आर्टेमिस टोली अपोलो १३ को प्रक्षेपण भएको ५६औँ वार्षिकोत्सवकै दिन ह्युस्टन फर्किएको हो। "ह्युस्टन, हामीलाई समस्या परेको छ" भन्ने ऐतिहासिक सन्देशका कारण चर्चित बनेको अपोलो १३ को कठिन क्षणलाई सफलतामा परिणत गरेको स्मरणसँगै नयाँ पुस्ताका अन्तरिक्ष यात्रीहरूको उपलब्धि जोडिनुलाई निकै प्रतीकात्मक मानिएको छ।

कमान्डर वाइसम्यानले आफ्नो अनुभव सुनाउँदै अन्तरिक्ष यात्रा भावनात्मक रूपमा चुनौतीपूर्ण रहेको र प्रक्षेपणअघि यो सपना जस्तो लागे पनि अन्तरिक्षमा पुगेपछि पृथ्वी र आफ्ना प्रियजनहरूसँग फर्कने चाहना झन् प्रबल हुने बताए। पाइलट ग्लोभरले आफूले भोगेको अनुभव अझै पूर्ण रूपमा आत्मसात गर्न नसकेको प्रतिक्रिया दिए भने ह्यानसेनले यो यात्रालाई मानवता र सहकार्यको प्रतिविम्बका रूपमा व्याख्या गरे। उनका अनुसार टोलीले आपसी विश्वास र प्रेमबाट शक्ति लिँदै यात्रा सम्पन्न गरेको हो। यस्तै अन्तरिक्ष यात्री कोचले पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा आएको अनुभूति वर्णन गर्दै ब्रह्माण्डको विशाल कालोपनबीच हाम्रो ग्रह जीवन बोकेको एउटा सानो आश्रयजस्तो देखिएको अनुभव सुनाइन्।

करिब १० दिन लामो यस अभियानमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट अधिकतम दुई लाख ५२ हजार ७५६ माइल (चार लाख छ हजार ७७१ किलोमिटर) दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् जुन अपोलो १३ को पुरानो रेकर्डभन्दा बढी हो। चन्द्रमाको पछाडि पुगेर यू–टर्न गर्दै फर्कने क्रममा उनीहरूले मानव आँखाले पहिले नदेखेका दृश्यहरू कैद गर्नुका साथै पूर्ण सूर्यग्रहणको समेत अवलोकन गरेका थिए। यस क्रममा खिचिएको 'अर्थसेट' तस्बिर विशेष चर्चामा छ, जसमा निलो पृथ्वी खैरो चन्द्रमाको पछाडि देखिन्छ। यो तस्बिरले सन् १९६८ मा अपोलो ८ द्वारा खिचिएको प्रसिद्ध 'अर्थराइज' तस्बिरको सम्झना दिलाएको छ। यद्यपि यात्राका क्रममा अन्तरिक्ष यानको शौचालयमा केही समस्या देखिएको थियो, जसलाई नासाले आगामी लामो चन्द्र अभियानअघि समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

यो अभियान सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानवलाई चन्द्र कक्षासम्म पुर्‍याउने महत्त्वपूर्ण उपलब्धि बनेको छ। आर्टेमिस कार्यक्रमअन्तर्गत नासाले अब थप महत्त्वाकांक्षी योजनाहरू अघि बढाइरहेको छ, जसमा अर्को वर्ष आर्टेमिस तृतीयमार्फत चन्द्र अवतरण र २०२८ मा आर्टेमिस चतुर्थमार्फत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने लक्ष्य राखिएको छ। नासाका प्रशासक इसाकम्यानले ५३ वर्षपछि यस्तो उपलब्धिले अन्तरिक्ष अन्वेषणमा नयाँ ऊर्जा थपेको र मानव चन्द्र यात्राको पुनरागमनसँगै नयाँ युगको सुरुआत भएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ