arrow

भित्रभित्रै वार्ताको तयारी : जेडी भान्सलाई सहभागी गराउनुपर्ने इरानको सर्त

अमेरिकाले हर्मुज जलमार्गबाट गुज्रन खोजिरहेको 'टुस्का' नामक इरानी जहाजलाई नियन्त्रणमा लिएपछि तनाव थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
jd-vance.jpg

काठमाडौँ । इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको शान्ति वार्ताका लागि तयारीमा रहेको छ। न्युयोर्क टाइम्सले दुई इरानी अधिकारीहरूलाई उद्धृत गर्दै यो टोली आजै इस्लामावाद पुग्न सक्ने जनाएको छ। 

यद्यपि यस वार्ताअघि इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले एक सर्त अघि सार्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्स सहभागी भएमा मात्र आफू पनि सामेल हुने बताएका छन्। अमेरिकी उपराष्ट्रपति भान्स मंगलबार वासिङ्टनबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकाले इरानी टोलीको सहभागिता पनि उनकै भ्रमणमा निर्भर रहने देखिएको छ।

वार्ताको पूर्वसन्ध्यामा इस्लामावादस्थित सेरेना होटललाई सुरक्षाको कारण देखाउँदै पूर्ण रूपमा खाली गराइएको छ। यो त्यही होटल हो जहाँ यसै महिनाको सुरुमा पहिलो चरणको वार्ता भएको थियो। 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम बुधबार साँझ ८ बजे (अमेरिकी समय) सम्म मात्र रहने भन्दै दबाब बढाएका छन्। उनले यदि सो समयभन्दा अघि कुनै ठोस सम्झौता हुन नसकेमा युद्धविराम अघि बढाउने सम्भावना निकै कम रहेको चेतावनी दिएका छन्।

उपराष्ट्रपति भान्स र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरू मंगलबार त्यसतर्फ प्रस्थान गरेपछि वार्ताको दोस्रो चरण सुरु हुने अपेक्षा गरिएको छ । जबकि यसअघि इरानको विदेश मन्त्रालयले वार्ताको कुनै निश्चित योजना नरहेको बताएको थियो।

क्षेत्रीय तनावका कारण रणनीतिक महत्त्वको हर्मुज जलमार्गमा जहाजहरूको आवागमन निकै सुस्त देखिएको छ। मरीन ट्राफिक डेटाका अनुसार सोमबार त्यहाँबाट मात्र १६ वटा जहाज ओहोरदोहोर गरेका छन्, जसमा दुईवटा इरानी तेल ट्याङ्कर र एउटा कार्गो जहाज सामेल थिए। 

यसैबीच अमेरिकाले हर्मुज जलमार्गबाट गुज्रन खोजिरहेको 'टुस्का' नामक इरानी जहाजलाई नियन्त्रणमा लिएपछि तनाव थप चुलिएको छ। चीनबाट फर्कँदै गरेको उक्त जहाज जफत भएपछि इरानले कडा आक्रोश व्यक्त गर्दै यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ।

अर्कोतर्फ इजरायल र लेबनानबीचको वार्ताको दोस्रो चरण भने अप्रिल २३ का लागि तय गरिएको छ । जहाँ यसअघि नै १० दिने युद्धविरामको सहमति भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ