ढोरपाटनमा दादुरा संक्रमण नियन्त्रणमा: छ हजारभन्दा बढीलाई लगाइयो खोप
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
631
Shares
काठमाडौँ ।गत फागुन ८ गतेदेखि ढोरपाटन नगरपालिकाका विभिन्न वडामा फैलिएको दादुरा संक्रमण स्वास्थ्यकर्मीहरूको विशेष प्रयासपछि नियन्त्रणमा आउन थालेको छ। विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरेसँगै संक्रमणको दर घटेको हो।
फागुन २९ देखि चैत २ गतेसम्म सञ्चालित अभियानमा १० देखि १९ वर्ष उमेर समूहका ६ हजार १४० जना बालबालिका तथा किशोरकिशोरीलाई दादुरा विरुद्धको खोप लगाइएको छ। खोप अभियान सुरु हुनुअघि दैनिक १० देखि १५ जना शंकास्पद बिरामी अस्पताल आउने गरेकोमा खोपपछि यो संख्या उल्लेख्य रूपमा घटेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार हालसम्म २३९ जनामा संक्रमणको शंका गरिएको थियो। परीक्षणका लागि काठमाडौँ पठाइएका ३४ नमुनामध्ये १४ जनामा दादुरा पुष्टि भएको थियो। पछिल्लो आठ दिनको अन्तरालमा मङ्गलबार मात्र निसीखोला गाउँपालिकाका एक शंकास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएका छन्। हालसम्म अस्पताल भर्ना भएकामध्ये एक जनाबाहेक अन्य सबै बिरामी निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।