अग्रवालको शत्रुनाश पूजा नसक्दै गृहमन्त्री सुधनको जागिर चैट
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
1.1k
Shares
काठमाडौँ। बिचौली एवं विवादित व्यवसायी दीपक भट्टको संगतमा नेपालका ठूला ठूला आर्थिक विचलनका काण्डका मुख्य आरोपीहरू सुलभ अग्रवाल र उनको परिवारका मुख्य व्यक्तिहरू प्रहरी हिरासतमा पुगेपछि अग्रवाल परिवार यतिखेर भगवानको शरणमा पुगेको छ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल परिवारले आफू, आफ्नो परिवार र व्यवसायमाथि शत्रु लागेको ठानेसँगै शत्रुनाश पूजा लगाएको हो । १५ दिनसम्म ४९ ब्राह्मण लगाएर गरिएको सो पूजा तान्त्रिक र वैदिक दुवै विधिबाट गरिएको अग्रवाल परिवार निकट स्रोतले जनाएको छ।
पूजा समापन गर्ने अत्यन्तै राम्रो साइत भएका कारण वैशाख १० गते बिहीबार पूजा समापन गरिएको छ।
१५ दिने पूजाकै क्रममा अग्रवाललाई प्रहरी हिरासतमा पुर्याउने गृहमन्त्री एवं रास्वपाका सांसद सुधन गुरुङको राजीनामा आएको छ। यसलाई पूजाकै सफलतासमेत अग्रवाल परिवारले मानेको छ ।
४९ ब्राह्मणले १५ दिनसम्म ५० लाख महामृत्युञ्जय मन्त्र, ५ लाख पटक हवन, ५० हजार पटक तर्पण र ५ हजार अभिषेक गरेका थिए । यद्यपि अभिषेक गर्नुपर्ने व्यक्तिहरू हिरासतमा भएका कारण पूजा सकिएपछि मात्रै सुलभ र सुबी अग्रवाललाई हिरासतमा अभिषेक गराउने तयारी ब्राह्मण पुरोहितहरूले गरेका छन् । शंकर अग्रवाल भने यसअघि नै छुटेका थिए ।
प्रत्येक दिन बिहान पूजा गर्नुअघि अग्रवाल परिवारले पूजास्थलमा भिडियो कल गरेर जानकारी लिने गर्दथे । शत्रुनाश यज्ञ पूजा भएका कारण यसमा प्रयोग हुने सामग्री पनि मेहनत गरेरै जुटाइएको थियो ।
अधिकांश सामग्री काठमाडौँ बाहिर विभिन्न ठाउँबाट झिकाइएको थियो । होम तथा यज्ञमा कुकुरडाइनो, दुबो, गुर्जो, ल्वाङ, सुकुमेल, दालचिनी, जौँ तिल, चामल मिश्रित हवन हुने गरेको थियो । यी सामग्रीहरू कतिपय पहाडी क्षेत्रबाट भने धेरैजसो सामग्री तराईबाट मगाइएको थियो ।
त्रेता युगमा भगवान श्रीरामले लंका आक्रमण गर्दा रावणले शत्रुनाश यज्ञ गरेको प्रसङ्ग रामायणमा आउने गर्छ । कोरोनाकालमा स्वास्थ्य उपकरण खरिद काण्डदेखि विवादमा तानिँदै र मुसिँदै आएका अग्रवाल परिवारको देशकै ठूलो आर्थिक अनियमितता काण्ड पर्दाफास भएसँगै हिरासत पुगेपछि शत्रुनाश यज्ञ गर्न पुगेका हुन् ।
उनलाई यो काममा उनका विश्वासिला धार्मिक गुरुले सिफारिस गरेका थिए । उनै गुरुको अगुवाइमा यो पूजा सम्पन्न गरिएको हो।