‘हरेक पुस्ताका लागि खोप प्रभावकारी’ भन्ने नाराका साथ मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
376
Shares
काठमाडौँ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता मनाइने 'विश्व खोप सप्ताह' यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ शुरू भएको छ। अप्रिल २४ देखि ३० सम्म विश्वभर मनाइने यस सप्ताहको मुख्य उद्देश्य खोपको महत्त्वबारे जनचेतना फैलाउनु र सबै मानिसको खोपमा पहुँच सुनिश्चित गर्नु हो।
यस वर्षको नारा ‘फर एभ्री जेनेरेशन भ्याक्सिन वर्क’ (हरेक पुस्ताका लागि खोप प्रभावकारी हुन्छ) तय गरिएको छ। यस नाराले खोप केवल बालबालिकाका लागि मात्र नभई हरेक उमेर समूहका व्यक्तिको जीवन रक्षाका लागि अपरिहार्य रहेको सन्देश दिएको छ। खोपले जटिल रोगहरूबाट समुदायलाई सुरक्षित राख्दै सार्वजनिक स्वास्थ्यलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न स्वास्थ्य साझेदार संस्थाहरूले यस अवसरमा खोप प्रवर्द्धनका विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। विशेष कुरा त के छ भने, यस वर्ष खोप समुदायले विश्व स्वास्थ्य संगठनको खोप प्रवर्द्धन अभियानको ५२औँ वार्षिकोत्सवलाई पनि विशेष उत्सवका रूपमा स्मरण गर्दैछ।
स्वास्थ्य विज्ञहरूका अनुसार समयमै खोप लगाउँदा व्यक्ति मात्र नभई पूरै परिवार र समाज विभिन्न महामारी तथा रोगहरूबाट सुरक्षित हुन्छ। ‘खोप लगाऔँ, हरेक पुस्तालाई सुरक्षित बनाऔँ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्यकर्मीहरूले सबैलाई समयमै आफ्नो र आफ्ना बालबालिकाको खोप तालिका पूरा गर्न आग्रह गरेका छन्।