arrow

जनप्रतिनिधि कि हुँकारवादी ?

जनप्रतिनिधिको मर्यादा कि पदको दम्भ ? [भिडियो]

विश्वराज पोखरेलको हर्कतमा चर्को आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
bishwo-raj-pokhrel-rsp.jpg

काठमाडौँ । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकास्थित चण्डेश्वरी माध्यमिक विद्यालय, पोल्थलीमा भएको एक घटनाले यतिबेला राजनीतिक वृत्त तताएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापक शान्तबहादुर मगरले आफूलाई स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा आक्रोश पोखेपछि विवाद शुरू भएको हो।

सोही क्रममा उनले आफू २९ वर्ष नेपाल सरकारको विशिष्ट श्रेणीमा काम गरेको अनुभव सुनाउँदै मर्यादा र प्रोटोकलको विषय उठाएका थिए। तर उनको अभिव्यक्ति शैली आदेशात्मक र हैकम झल्किने खालको भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

यसै घटनालाई लिएर रास्वपाकै अर्का सांसद गणेश कार्कीले सामाजिक सञ्जालमार्फत सांकेतिक तर कडा व्यङ्ग्य गरेका छन्। उनले “माननीय भन्दा सांसद भन्नु नै राम्रो लाग्छ” भन्दै पदको घमण्ड नगर्न र विनम्रता नछोड्न आफ्नै सहकर्मीलाई सचेत गराएका छन्।

कार्कीले “हजुर एक भोट दिनुस्” भन्दै जनतासँग नजिकिएको समय धेरै नबितेको स्मरण गराउँदै “भुईँ नछोडौँ न है” भन्ने सन्देश दिएका छन्, जसलाई राजनीतिक संस्कारप्रति गरिएको गम्भीर टिप्पणीका रूपमा लिइएको छ।

यता, पोखरेलले विद्यालयमा प्रधानाध्यापकको व्यवहारलाई लिएर दिएको कडा अभिव्यक्ति “तपाईंहरू माननीय आएपछि स्वागतमा आउनुपर्छ”, “म विशिष्ट श्रेणीको कर्मचारी हुँ”, “जिल्लाको एक नम्बर माननीय हुँ” जस्ता भनाइहरू समेत सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

यता, स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले पनि सांसद पोखरेलको हर्कतपैति कडा प्रतिक्रिया जनाउँदै सांसद जनताको नोकर भएको बताएका छन्। उनले यस्ता व्यवहारका लागि माफी माग्नुपर्ने वा जनताले फिर्ता बोलाउनुपर्ने धारणा राख्दै राजनीतिक पदको मर्यादामाथि प्रश्न उठाएका छन्।

एउटा विद्यालय भ्रमणका क्रममा शुरू भएको यो घटना अहिले दलभित्रै बहस र सार्वजनिक आलोचनासम्म पुगेको छ। यसले जनप्रतिनिधिको व्यवहार, विनम्रता र लोकतान्त्रिक संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ भने सामाजिक सञ्जालमा भने यो प्रकरण अझै चर्किँदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ