कुपिन्डे दहको संवर्द्धन, प्रवर्द्धन र विकास गर्नुपर्नेमा जोड
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
323
Shares
सुर्खेत। शुक्रबारदेखि शुरू भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कर्णालीको पर्यटकीय स्थल सल्यानको कुपिण्डे दहमा विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको छ ।
चलचित्रका माध्यमबाट कुपिन्डे तालको प्रचारप्रसार गरी तालको महत्त्व झल्काउन कुपिन्डे तालको किनारमा महोत्सव आयोजना गरिएको बताइएको छ ।
महोत्सवले कुपिन्डे तालको पर्यटकीय संवर्द्धन, प्रवर्धन र विकासमा महोत्सवले भूमिका खेल्ने आयोजकले बताएका छन् ।
प्रतिनिधिसभा सदस्य रमेश मल्ल, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संयुक्त रूपमा महोत्सव उद्घाटन गरेका हुन् ।
महोत्सव उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रमेश मल्लले पर्यटन विकासका लागि महोत्सवले प्रभावकारी भूमिका खेल्ने बताए ।
कर्णालीका थुप्रै पर्यटकीय स्थलहरूको प्रचार प्रसार नहुँदा ओझेलमा परेको भन्दै पर्यटन प्रवर्द्धनमार्फत कर्णालीको विकास गर्न सकिने उनले बताए ।
‘चलचित्र छायाङ्कनका लागि कर्णालीमा थुप्रै सम्भावनाहरू छन्’, उनले भने, ‘कतिपय पर्यटकीयस्थलको प्रचार प्रसार नहुँदा ओझेलमा परेका छन् । तिनीहरूको प्रभावकारी प्रचारप्रसार गर्न सके कर्णालीका पर्यटन उद्योग मार्फत आयआर्जन गर्न सकिने छ।’
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कुपिण्डे ताल कर्णालीकै पर्यटकीय सम्भावना बोकेको विशेष क्षेत्र भएकोले यसको संवर्द्धन, प्रवर्द्धन र विकास गर्नुपर्नेमा जोड दिए ।
‘यो तालको विकासले सल्यान जिल्लाको पर्यटकीय उन्नयनले यहाँको आर्थिक सवलीकरण गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकारले आवश्यक नीति र बजेट विनियोजन गरिरहेको छ ।’
तालको प्रवर्द्धनका लागि कर्णाली सरकारले सात करोड २० लाख र प्रदेश सरकारकै साझेदारीमा सञ्चालित अर्कोमार्फत करिब २० करोड रुपैयाँ विनियोजन गरिएको बताए । कुपिण्डे तालको पुरानो स्वरूपलाई फर्काउने, तालसम्म पुग्ने बाटोको स्तारोन्नती गर्ने तथा ताल माथि झोलुङ्गे पुल, वास्तुयुक्त मन्दिर निर्माण र तालको सौन्दर्य करणका साथै स्थानीयहरूको जीविकासँग जोडिएका कार्यक्रम सञ्चालन गर्ने गरी परियोजनाको डिजाईन गरिएको उनले बताए ।
वनगाड कुपिन्डे नगरपालिकाले आयोजना गरेको महोत्सवमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, रेडचेरी लगायतका विभिन्न संस्थाहरूले प्राविधिक सहयोग गरेका छन् ।
कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी, कपुर कोटका अध्यक्ष दुर्गा पुन, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध केसी, दैलेख गुराँस गाउँपालिका उपाध्यक्ष बनगाड उपाध्यक्ष पुरुषोत्तम आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, रेडचेरीका अध्यक्ष कलाकार चतुर चन्दलगायतको उपस्थिति थियो ।
महोत्सवमा सल्यानका प्रसिद्ध सिंगारु नाँच, सरङगे नाचलगायतका विभिन्न कला संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएको थियो । महोत्सवमार्फत कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन क्षेत्र तथा मौलिक संस्कृतिलाई चलचित्रकर्मीमाझ पुर्याउने योजना छ ।
महोत्सवले यस वर्ष कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिता पनि घोषणा गरेको छ ।
हाल विशेषज्ञहरूबाट कथा छनोट प्रक्रिया जारी रहेको र विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
सरकारले घोषणा गरेको ‘घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य’ सूचीमा समावेश कुपिण्डे तालको प्रचार-प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बनगाड कुपिन्डे नगरपालिकाले जनाएको छ ।