स्वयम्भू र बौद्धमा श्रद्धालुको घुइँचो, दर्शनका लागि राखियो भगवान् बुद्धको अस्तु धातु
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
310
Shares
तस्बिर फाइल
काठमाडौँ । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज काठमाडौँ उपत्यकाका प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थलहरू स्वयम्भू र बौद्धसहित विभिन्न बौद्ध गुम्बाहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठुलो घुइँचो लागेको छ।
यस विशेष दिनको उपलक्ष्यमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, धार्मिक प्रवचन, दीप प्रज्वलन र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेष गरी स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित पवित्र अस्तु धातुलाई सर्वसाधारणको दर्शनका लागि राखिएकाले त्यहाँ बिहानैदेखि दर्शनार्थीहरूको लामो लाम लागेको छ।
बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीहरूद्वारा विश्व शान्तिको कामना गर्दै शान्तिपाठ, ध्यान साधना र परिक्रमा जस्ता आध्यात्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा पनि भक्तजनहरूले दीप प्रज्वलन गर्दै व्यक्तिगत तथा राष्ट्रिय शान्ति र समृद्धिको कामना गरेका छन्।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्वलाई हिन्दू धर्मावलम्बीहरूले पनि भगवान् विष्णुको नवौँ अवतारका रूपमा सिद्धार्थ गौतमको पूजा र आराधना गरी विशेष श्रद्धाका साथ मनाउने गर्दछन्।
अहिंसा, करुणा र मध्यम मार्गको अमूल्य सन्देश दिनुभएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना र मानवतावादी मूल्यहरूको प्रवर्द्धनमा विश्वभर नै महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ। आजभन्दा २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको कोखबाट लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए। उनले सारनाथमा पहिलो पटक धर्मचक्र प्रवर्तन (ज्ञान बाँड्ने काम) गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको ऐतिहासिक तथ्यहरू रहेका छन्।
यस पावन अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सङ्घसंस्था तथा धार्मिक निकायहरूले शान्ति, सद्भाव र भ्रातृत्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ विविध धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिरहेका छन्। बुद्धका उपदेशहरूलाई आत्मसात् गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्न आजको दिनले सबैलाई थप प्रेरणा दिने विश्वास लिइएको छ।