जिम्मेवार प्रेसले लोकतन्त्रलाई बलियो बनाउँछ: राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
288
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताएका छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सुशासन, विकास र समृद्धिको चाहना पूरा गर्ने अभियानमा प्रेसको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे।
नेपालको हरेक राजनीतिक र सामाजिक परिवर्तनमा पत्रकारिता जगत्ले खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गर्दै राष्ट्रपति पौडेलले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्मअनुसार निर्भय वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए। उनले सत्यतथ्य समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्नु नै जिम्मेवार प्रेसको मुख्य धर्म भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन गर्ने सुनिश्चितताका लागि सबैको ध्यान जान आवश्यक रहेको बताए। साथै, श्रमजीवी पत्रकारको हकहित र सञ्चारगृहको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने उनको भनाइ थियो।
सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र मिथ्या सूचनाको चुनौतीतर्फ सङ्केत गर्दै राष्ट्रपतिले आधारहीन सूचनाबाट जनता दिग्भ्रमित हुन सक्ने खतरा औँल्याए। उनले यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे।
सो अवसरमा राष्ट्रपति पौडेलले 'वरिष्ठ पत्रकार' सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मानित गरे। यस्तै, भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई 'राष्ट्रिय पत्रकारिता' पुरस्कार प्रदान गरिएको छ। पुरस्कृत पत्रकारहरूको साधनाले नयाँ पुस्तालाई व्यावसायिक निष्ठामा लाग्न उत्प्रेरित गर्ने उनले बताए।