arrow

हुम्ला-बाजुरा टक्करः इतिहास मेट्न खोजिए प्रतिकार गर्ने हुम्ली चेतावनी

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८३ जेठ ४ सोमबार
humli-people-83-3-4.jpeg

हुम्ला । बाजुरा पक्षबाट लाम्पाटा, च्याचौर र रानीसैन क्षेत्रलाई आफ्नो भू–भाग भएको दाबी सार्वजनिक हुन थालेपछि हुम्लाका विभिन्न स्थानीय तहका बासिन्दा ठूलो संख्यामा लाम्पाटा क्षेत्रमा पुगेका छन् । 

परम्परागत रूपमा उपयोग, संरक्षण र चरिचरन हुँदै आएको क्षेत्रमा स्वामित्वको दाबी उठेपछि स्थानीयमा असन्तोष चुलिएको हो । ताँजाकोट, सर्केगाड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका स्थानीयले उक्त क्षेत्रलाई हुम्लाबासी समुदायको ऐतिहासिक चरनभूमि, सामुदायिक वन क्षेत्र तथा जीवनयापनसँग जोडिएको साझा थलो भएको बताएका छन् । 

स्थानीयका अनुसार लाम्पाटा, च्याचौर र रानीसैन क्षेत्र हुम्ला र बाजुराको सीमाना हो, यसमा हुम्लाका स्थानिउले दशकौँदेखि चौरी–गाई पालन, चरिचरन, वन संरक्षण तथा परम्परागत उपयोग हुँदै आएका छन् ।

'सदियौँदेखि हाम्रो समुदायले संरक्षण र उपयोग गर्दै आएको भूमिमा अहिले आएर स्वामित्वको दाबी गर्नु इतिहासमाथिको हस्तक्षेप हो, हामी विवाद र टकराव चाहँदैनौँ, तर प्रशासनिक दबाब, राजनीतिक प्रभाव वा सुरक्षा निकायको आडमा सीमा सम्बन्धी विषय प्रभावित गर्न खोजे आफ्नो भूमि, पहिचान र परम्परागत अधिकारको रक्षा गर्न पछि हट्दैनौँ', खार्पुनाथ– २ का वडाअध्यक्ष चन्द्र रावलले बताए ।

हुम्ला–बाजुरा सीमावर्ती क्षेत्रमा देखिएको वन–जंगल, चरन क्षेत्र तथा परम्परागत उपयोग सम्बन्धी विवादलाई ठूलो रूपमा नलिई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा बुढीनन्दा नगरपालिका बाजुराका प्रमुख जनक बोहोराले जोड दिएका छन् ।

यो अन्तर्राष्ट्रिय सीमाना होइन । हुम्ला र बाजुराले मिलेर यस क्षेत्रको संरक्षण र प्रवर्द्धनमा लाग्नु अहिलेको आवश्यकता भएको बोहोराले बताए । उनले भने, 'वन–जंगल दुवै समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका छन् । त्यसैले विवाद भावनाले होइन, तथ्य, इतिहास र सहमतिका आधारमा समाधान हुनुपर्छ ।'

उनले नक्सामा देखिने प्रशासनिक सीमा र स्थानीय भोगचलनबीचको फरकका कारण विवाद बढ्दै गएको उल्लेख गर्दै समयमै संवाद अघि नबढाइए समस्या थप जटिल बन्न सक्ने बताए । दुवै जिल्लाका जनप्रतिनिधि, वन समिति र स्थानीय समुदायबीच तत्काल छलफल आवश्यक रहेको उनको भनाइ छ ।

हुम्लाका जनप्रतिनिधिहरूले प्रशासनिक दबाब, राजनीतिक प्रभाव वा सुरक्षा निकायको आडमा सीमा सम्बन्धी विषय प्रभावित गर्न खोजिए हिमाली जिल्लाबीचको सामाजिक सद्भावमा असर पर्न सक्ने चेतावनी दिएका छन् । 

उनीहरूले सीमा विवादलाई भावनात्मक अभिव्यक्ति वा एकपक्षीय दाबीका आधारमा नभई ऐतिहासिक अभ्यास, सामुदायिक वनका अभिलेख, स्थानीय प्रमाण तथा तथ्यका आधारमा समाधान गर्नुपर्ने माग गरेका छन् ।

लाम्पाटा क्षेत्रमा दुवै जिल्लाका स्थानीयको उपस्थिति बढ्दै गएकाले सम्भावित संवेदनशीलतालाई ध्यानमा राख्दै अफवाह र उत्तेजनात्मक गतिविधिबाट वातावरण नबिगार्न हुम्ला र बाजुरा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आग्रह गरेका छन् ।

सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरीक्षक युबराज ढकालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली लाम्पाटा क्षेत्रमा परिचालन गरिएको प्रजिअ टेककुमार रेग्मीले जानकारी दिए । उनले सत्य, इतिहास र तथ्यका आधारमा न्यायपूर्ण समाधान खोज्न सबै सरोकारवाला निकायलाई आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ