arrow

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते, एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
Accident-sign.jpg

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु।प्र।०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीका अनुसार दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना र मिनी ट्रकका चालक गरी कुल सात जना घाइते भएका छन्। घाइतेमध्ये एम्बुलेन्समा सवार एक महिलाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परि घाइते हुनेहरूमा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने २४ वर्षीय कुशल परियार, सोही स्थानका ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय बालक युवान बुढा मगर र ६० वर्षीय धनप्रसाद बुढा मगर रहेका छन्। यस्तै, पूर्वी रुकुमको भुमे गाउँपालिका–७ बस्ने ३६ वर्षीया चिजामाया घर्ती पनि दुर्घटनामा घाइते भएकी छन्।

घाइतेहरूमध्ये २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सबै घाइतेहरूको अहिले बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ