काठमाडौँ । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।
उनका अनुसार दुर्घटनाग्रस्त गाडीको नम्बरसमेत खुलेको छैन। घटनास्थल पुगेको प्रहरी टोलीले तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ।
प्रहरीका अनुसार पिकअप गाडी सडकबाट करिब ४०० देखि ५०० मिटर तल खसेको थियो।
दुर्घटनाको खबर आज बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।