इपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
218
Shares
काठमाडौँ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले इपीजी प्रतिवेदन सुरक्षित राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् ।
संयोजक थापाले आफ्नो स्वास्थ्य अवस्था र बढ्दो उमेरका कारण देखाउँदै परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा परराष्ट्रसचिव अमृतबहादुर राईलाई उक्त दराजको साँचो हस्तान्तरण गरेका हुन् ।
केही सञ्चार माध्यमहरूमा परराष्ट्र मन्त्रालयले इपीजी प्रतिवेदन नै बुझिसकेको जस्तो अर्थ लाग्ने गरी समाचारहरू सार्वजनिक भएपछि मन्त्रालयले यस विषयमा स्पष्टीकरण दिएको छ । मन्त्रालयले डा. थापाबाट प्रतिवेदन बुझेको नभई प्रतिवेदन राखिएको दराजको साँचो मात्र बुझेको स्पष्ट पारेको हो ।
नेपाल र भारतबिच ऐतिहासिक कालदेखि रहँदै आएका सन्धि–सम्झौता तथा विविध समस्याहरूको अध्ययन गरी दीर्घकालीन समाधानका उपाय खोज्न दुवै देशको संयुक्त सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी) गठन गरिएको थियो ।
सन् २०१६ मा गठित यो समूहले दुई वर्षसम्म गहन अध्ययन र छलफल गरी संयुक्त प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई संयुक्त रूपमा बुझाउनुपर्ने कानुनी प्रावधान र सहमति भए पनि भारतीय पक्षको अनिच्छाका कारण हालसम्म दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदन बुझेका छैनन् ।