सरकार रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्छ: माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
293
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सरकार रोजगारी सिर्जना, स्वदेशी उद्योगको संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन्।
शनिबार नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले लगानीमैत्री वातावरण बनाउन विशेष ध्यान दिनुपर्ने बताए। राज्यको प्रमुख दायित्व नै रोजगारीका अवसरहरू सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको उनको भनाइ थियो। उद्योग तथा व्यवसायमा प्रतिकूल असर पर्ने गरी राज्यले कुनै पनि नीति लिन नहुनेमा उनले जोड दिए।
देशभित्र उद्योग-व्यवसायले प्रोत्साहन पाउन नसक्दा युवाहरू रोजगारीका लागि वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उनले उल्लेख गरे। आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको आरोप उनले लगाए। स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत मात्रै आर्थिक सुदृढीकरण सम्भव भए पनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको उनको भनाइ थियो।
सह–संयोजक नेपालले भने,“राज्यले रोजगारीका जुन–जुन सम्भावनाहरू छन्, त्यसलाई प्रोत्साहित गर्ने हो। व्यवसायहरूलाई फस्टाउनका लागि राज्य लचिलो हुनुपर्छ र कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ। देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर चाहर्ने स्थिति बनिरहेको छ। नेपालले जति धेरै आयात रोक्न र आफ्नै देशमा उत्पादन गरेर विदेशमा निर्यात गर्न सक्यो, त्यति नै हाम्रो अर्थतन्त्र निर्यातमुखी बन्दै जान्छ। तर यी कुरामा सरकारको ध्यान जान सकेको छैन।”
सह–संयोजक नेपालले नेपालमा विशेष गरी औषधि उद्योगहरू गम्भीर सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरे। हाल देशका करिब १५० भन्दा बढी औषधि उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जानकारी दिँदै उनले यस विषयमा संसद्, राजनीतिक दल र सरोकारवाला निकायहरूले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।
सरकारले निजी क्षेत्रका गुनासाहरू सुन्ने, नियमित संवाद गर्ने र नीतिगत सुधारमार्फत उद्योग व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। निजी क्षेत्रसँगको छलफल र संवादले देशको अर्थतन्त्र र राजस्व वृद्धिमा सघाउ पुर्याउने उनले स्पष्ट पारे।
नेपाल प्राकृतिक स्रोत–साधनले सम्पन्न देश भएको उल्लेख गर्दै उनले खनिज, कृषि र ऊर्जा क्षेत्रमा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। कृषि, जलविद्युत् र खनिज स्रोतको विकास नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उनले बताए। उत्पादन, रोजगारी र आम्दानी वृद्धि भएमा उपभोग तथा व्यापार स्वतः विस्तार हुने उनको तर्क थियो।
उनले नेपालका सिमेन्ट उद्योगहरूको हालत पनि उस्तै रहेको र देशमा रहेका धातु तथा खनिज पदार्थहरूको खोज अनुसन्धानका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए।
सुनचाँदी लगायतका बहुमूल्य वस्तुहरूको बजारबारे चर्चा गर्दै उनले नेपाल र भारतबिचको मूल्य अन्तरका कारण हुने अवैध कारोबारलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य भएको बताए। अनुचित तरिकाबाट हुने आयआर्जनलाई निरुत्साहित गर्दै वैध व्यापार र स्वदेशी कला-व्यवसायलाई प्रोत्साहन गर्ने स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो।