arrow

छपन्न जिल्लामा रास्वपाको अधिवेशन सकियो, १२ निर्वाचन प्रक्रियामा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो साङ्गठनिक विस्तारलाई देशव्यापी रूपमा तीव्र पार्दै ५६ जिल्लामा जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। पार्टीले शनिबार र आइतबार गरी दुई चरणमा तोकेको जिल्ला अधिवेशन अन्तर्गत बाँकी रहेका १२ जिल्लामा भने हाल नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ। पहिलो चरणमा शनिबार ३८ जिल्लामा अधिवेशन सकिएको थियो भने दोस्रो चरण अन्तर्गत आइतबार २८ जिल्लामा प्रक्रिया सुरु भई अधिकांश ठाउँमा नयाँ कार्यसमिति समेत घोषणा भइसकेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ। मधेस प्रदेशका महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशन सकिएर नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। यस्तै सप्तरी र बारामा आज सोमबार तथा धनुषामा मङ्गलबार अधिवेशन गर्ने रास्वपाको कार्यतालिका रहेको छ।

बागमती प्रदेशतर्फ दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, सिन्धुली, धादिङ, रामेछाप, चितवन र ललितपुरको अधिवेशन सम्पन्न भइसकेको छ भने सिन्धुपाल्चोकमा भने विशेष कारणवश अधिवेशन स्थगित गरिएको छ। गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा नयाँ नेतृत्व आइसकेको छ। यद्यपि बागलुङमा जिल्ला कार्यसमिति सहमतिमा चयन भएको भनिए पनि उजुरी परेपछि हाललाई प्रक्रिया रोकिएको छ भने नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चुनावी प्रक्रिया जारी छ।

लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देही गरी ११ वटै जिल्लामा अधिवेशन सकिएको छ। कर्णाली प्रदेशका कालीकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा नयाँ कार्यसमितिका लागि निर्वाचन भइरहेको छ। सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा नेतृत्व चयन भइसकेको छ भने डोटी र बाजुरामा निर्वाचन प्रक्रिया बाँकी रहेको छ।

यसअघि नै देशभरका ४ हजार २५० वडा तथा ५१६ पालिकामा अधिवेशन सम्पन्न गरेर जग बलियो बनाएको रास्वपा अब प्रदेश अधिवेशनतर्फ केन्द्रित हुँदै छ। सोही योजना अनुरूप पार्टीले यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्दै छ, जस अन्तर्गत मङ्गलबार बागमती प्रदेशको अधिवेशन आयोजना गरिएको छ। यसरी तल्ला कमिटीका सबै अधिवेशनहरू भ्याएर रास्वपा आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने आफ्नो पहिलो र ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा पूर्ण तयारीका साथ होमिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ