काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याका कारण हाल चिकित्सकको विशेष निगरानीमा उपचाररत रहेका छन्। मेस्सी परिवारले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो।
बुबाको स्वास्थ्यलाई लिएर पछिल्ला केही घण्टायता सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा आएका अनेकौँ हल्ला तथा अड्कलबाजीप्रति मेस्सी परिवारले कडा असन्तुष्टि व्यक्त गरेको छ। यसलाई पूर्ण रूपमा निजी पारिवारिक विषय भएको उल्लेख गर्दै परिवारले आधिकारिक स्रोतबाहेकका अन्य भ्रमक सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ। व्यक्तिको स्वास्थ्य र परिवारको मानसिक शान्तिलाई ध्यानमा राख्दै गोपनीयताको सम्मान गर्न अपिल गरिएको छ र आवश्यक जानकारी उचित समयमा परिवारकै तर्फबाट सार्वजनिक गरिने विज्ञप्तिमा बताइएको छ।
फिफा विश्वकपको उद्घाटन खेलमा अल्जेरियाविरुद्ध गोल गरेपछि लियोनल मेस्सी मैदानमै भावुक हुँदै रोएका थिए। खेलपछि उनले आफ्नो आँसु खेलसँग नभई व्यक्तिगत र पारिवारिक समस्यासँग जोडिएको खुलासा गरे।
‘यो खेलसँग सम्बन्धित विषय थिएन। पछिल्ला केही दिन मेरो लागि निकै कठिन र जटिल थिए। टोलीका सबै सदस्य र सहकर्मीहरूले सधैँझैँ साथ र हौसला दिएका छन्, त्यसका लागि म आभारी छु,’ मेस्सीले भने।
पारिवारिक तनावका बिच पनि मैदानमा मेस्सीले ऐतिहासिक प्रदर्शन गरिरहेका छन्। उनले हालै जारी विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा कुल १६ गोल पुर्याएका छन्। यससँगै उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानको बराबरी समेत गरेका छन्।
यसै खेलमार्फत मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पनि पूरा गरे। कीर्तिमानी यात्रामा रहेको अर्जेन्टिनाले अब जुन २२ मा टेक्सासमा अस्ट्रियाविरुद्ध आफ्नो अर्को खेल खेल्ने तालिका रहेको छ।