स्टाडियो सान्टियागो बर्नाबेउ । स्पेनिश लिग फुटबलमा रियाल मड्रिडको अग्रता कायमै रहेको छ । रियालले आइतबार राति भएको खेलमा अलाभेसलाई ३–० ले हराउँदै दोस्रो स्थानको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाभन्दा अगाडि रहेको हो ।
रियालको जितमा करिम बेन्जेमा, इस्को र नाचो फर्नान्डेजको गोल सामेल थियो । बार्सिलोनाले पनि आफ्नो खेल जितेको छ । बार्सिलोनाले ग्रानाडालाई उसकै मैदानमा ४–१ ले हराएको हो ।
कार्वाहीमा परेका लियोनल मेस्सी बिना नै मैदानमा उत्रेको बार्सिलोनालाई विजयी गराउन लुइस सुवारेज, फ्रान्सिस्को अल्कासेर, इभाँ राकिटिक र नेइमारले गोल गरे ।
इन्जुरी समयमा गोल गरेपछि नेइमारले बार्सिलोनाका लागि गोल संख्या १०० पुर्याएका छन् । नेइमारले बार्सिलोनाका लागि सय गोल पुर्याउँदा लियोनल मेस्सीले भन्दा ११ खेल अगाडि नै बनाएका हुन् ।
यो खेलपछि लिगको अंक तालिकामा २८ खेलबाट ६८ अंकको रियाल मड्रिड शीर्ष स्थानमै छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६६ अंक छ ।