arrow

करोडौँका उपकरण किन्न जुटाएको बजेट फ्रिज भएकोमा गगन चिन्तित

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
gagan_thapa2.jpg

काठमाडौं । पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य उपकरण किन्नका लागि आफुले ल्याएको बजेट फ्रिज भएकोप्रति चिन्ता जनाएका छन् ।

उपकरण नभएको कुनै सरकारी स्वास्थ्य संस्था नहुनेगरी बजेट व्यवस्था गरिएकोमा उपकरण किन्ने प्रक्रिया अगाडी नबढाउदा फ्रिज भएको भन्दै उनले चिन्ता प्रकट गरेका हुन् ।

“अर्थ मन्त्रालयमा हामीले धेरै मेहिनत र छलफल गरेर करोडौंको बजेट उपकरण किन्नका लागि ल्याएका थियौं, किन्ने प्रक्रिया पनि सुरु भईसकेको थियो, तर हामीले छोडेपछि भने कुनै प्रक्रिया अगाडी नबढ्दा त्यो रकम त्यसै फ्रिज भएछ, यसले दुःखी बनाएको छ”, उनले भनेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ, केन्द्रीय युवा समितिले प्रकाशन गरेको स्वास्थ्यकर्मी नामक स्मारिकाको विमोचन कार्यक्रममा पूर्वमन्त्री थापाले मन्त्रालयको बजेट बढाउने भन्दा पनि भएको बजेटलाई फ्रिज हुन नदिनु बढी बुद्धिमानी हुने बताए ।

मन्त्रालयलाई छुट्याईएको करोडौ रुपियाँ खर्च नभएर फ्रिज भईरहेका बेला बजेट बढाउछु भन्नु उपयुक्त नहुने थापाको भनाई छ ।

स्वास्थ्यकर्मीका छोरा छोरीलाई स्वास्थ्य शिक्षामा सहुलियत र प्राथमिकता दिनेगरी आफुले केही प्रक्रिया अगाडी बढाएको जानकारी दिँदै थापाले त्यसलाई पुरा गरेर कार्यान्वयनमा लैजान ध्यानकर्षण गराए ।

‘तपाईहरुले आफ्नो पुरै जीवन स्वास्थ्य क्षेत्रमा लगाएर देश र जनताका लागि ठुलो योगदान गर्नु भएको छ, त्यही योगदानको कदर स्वरुप तपाईहरुका छोराछोरीको शिक्षाका लागि निश्चित कोटाको व्यवस्था गर्नु पर्नेगरी केही काम भएको छ, त्यसलाई अव टुंगोमा पुर्याएर कार्यान्वयन गर्न लगाउनुस्’, पूर्वस्वास्थ्य मन्त्री थापाले भने ।  

स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक, सङ्घका अध्यक्ष रामजी घिमिरे लगायतले मन्त्री थापाको कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै काम भएपनि त्यसलाई काँग्रेसले स्थापित गर्न नसकेको बताए । ‘काँग्रेसले नजानेर हो वा नचाहेर हो उहाँले गरेको कामका बारेमा जनतासम्म पुर्याउन सकिएन, काँग्रेसले स्वमित्व लिएन,” उनीहरुले भने ।

कार्यक्रममा स्मारिकाको समिक्षा टिप्पणी गर्दै बरिष्ठ मुटुरोग विषेशज्ञ तथा सहित्यकार डा. रामेश कोईरालाले प्राविधिकहरुले निकालेका स्मारिकहरु मध्ये यसमा निकै कम त्रुटि भएको र हरेक स्वास्थ्यकर्मीलाई उपयोगी हुने पुस्तक बनेको बताए ।

स्वास्थ्यकर्मी संघ अन्तर्गतको केन्द्रीय युवा समितिका अध्यक्ष अमृतजङ बस्नेत प्रधान सम्पादक रहेको २०६ पृष्ठ बाक्लो स्मारिकामा स्वास्थ्य क्षेत्रका विभिन्न लेख रचना संकलन गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ