- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिमण्डल बिस्तार गरेको घटनाले वजार तताएको छ। सत्ता संचालन भन्दा सत्ता टिकाउने कलामा निपुर्ण रहेको आरोप लाग्दै आएका उनलाई यो घटनाले सत्ता संचालनको खेलाडी मात्र बनाएको छ।
नेताको अर्थ बिगतका कमजोरीलाई सुधार गर्ने मात्रै हैन भविष्यद्रष्टा पनि हुनुपर्छ । भविष्यका नया सम्भावना र चुनौतीलाई एकसाथ देख्ने र समाधान दिनसक्ने हुनुपर्छ ।| नेपाली राजनीतिमा पछिल्ला बर्षहरु नेताको अभावमा चलेको छ । आम जनता नेता पाइएन अब कमसेकम कुसल सत्ता संचालकसम्म आइदिए हुन्छ भन्ने अवस्थामा पुगेका छन् ।
हाम्रा लागि भएको बिजुली ननिभोस, बनेका बाटाहरु मर्मत हुन् र अहिलेको संबिधान कार्यान्यनसम्म गर्न सकियोस भन्नेमा हामि केन्द्रित छौ । तर समय यति गतिशील छ कि हाम्रा सत्तामा बस्ने पदाधिकारीहरुले तत्कालको समस्या समाधानमा लगाउने समयभरिमा अर्को झन् ठुलो समस्या अगाडी आइपुग्छ ।
भनिन्छ महाभारत युध्द्धमा पाण्डव पक्षमा अक्षौहिणी सेना र कौरब पक्षमा ७ अक्षौहिणी थियो रे तर बिजेता पाण्डव बन्न पुगे । त्यसको पछाडी योद्धाहरु भन्दा पनि भविष्यदेख्ने कृष्ण तिनको साथमा थिए । अरुले नदेखेको देख्ने नेता हो। कांग्रेसी कार्यकर्ता बिपीको सपना भन्छन त्यसको अर्थ पनि त्यहि नै हुनु पर्छ भविष्य देख्ने । ठुलो भिडले मात्रै युद्ध जितिन्न न त सफल सरकार संचालन गर्न सकिन्छ ।
जबसम्म भविष्यमा आउने समस्यालाई देख्ने नेतृत्व स्थापित हुन सक्दैन नेपालमा स्थिरताको कल्पना गर्नु न्यायोचित हुन्न । पंचायतमा तत्कालिन सत्ता हल्लाउने प्रजातन्त्रवादीको समुह संख्यात्मक रुपमा सानो थियो होला तर तिनको स्पष्ट दृष्टिकोण र अठोटले तिनलाई बिजेता बनायो । भविस्य देख्ने बिपीको नेतृत्वले कांग्रेसलाई न तत्कालिन सरकारले हराउन सक्यो न जेल, गोलिले तर्साउन सक्यो । त्यहि अठोट बोकेका व्यक्ति मध्ये एक थिए शेर बहादुर । जो पाण्डव जस्तै संख्यात्मक रुपमा सानो सेनाले पनि युद्ध जित्ने कुरामा ढुक्क थियो र त्यस्तै भयो ।
बि पी को अवसान पछि कांग्रेस नेता बिहिन हुन पुग्यो यद्दपि व्यवस्थापकीय क्षमता भएका केहि त्यागीअझै बाँकी थिए । कम्युनिष्टसंगको सहकार्य कांग्रेस र प्रजातन्त्रका लागि, नेपाल र नेपालीको बिकासका लागि कति प्रत्युत्पादक हुन्छ भन्ने सोच्न नसक्दाको परिणाम ४६ सालपछिका घटनाहरुले पुष्टि गर्छ |
कम्युनिष्टसंगको सहकार्यमा गरिएको संयुक्त जन-आन्दोलन त्यसको पहिलो कडी थियो । तत्कालका लागि प्रजातन्त्र पाए जस्तो भए पनि त्यो नेपालि राजनीतिमा प्रजातन्त्रको दुरुपयोग गर्ने, बदनाम गर्ने प्रारम्भ बिन्दु रह्यो । प्रजातन्त्र मान्दैनौ भन्ने कम्युनिष्टलाइ प्रजातान्त्रिक धारमा ल्याउन सफल भएको भ्रम कांग्रेसले पालेको थियो |
५ बर्ष भित्र जनयुद्धको नाममा प्रजातन्त्र कमजोर पार्ने अर्को योजना शुरु भयो। प्रजातान्त्रिक सरकार जनतामार हो भन्ने कुरा गाउँ गाउँमा पुर्याइयो । गाउँका सामान्य जनता फरक फरक पार्टीमा विभाजित मात्रै भएनन् तिनका लागि प्रजातन्त्र भन्ने शब्दप्रति नै घृणा जन्माइयो । अर्कोतिर कमजोर सरकार बनाउने र संसदीय व्यवस्था खराब भन्ने प्रमाणित गर्ने कसरत संसद भित्रकै पार्टीभित्र बाट हुन लाग्यो । हिजोसम्म कुशल व्यवस्थापक र त्यागी मानिएका नेताहरु अब सत्तामा टिकिरहन जे पनि गर्ने पात्रका रुपमा स्थापित हुदै गए ।
कहिले पन्चसंग त कहिले कम्युनिष्टसंगको सहकार्यले अन्तमा पार्टीहरु विभाजित हुन पुगे। बिपीको सानिध्यमा हुर्केका शेर बहादुर त्यसपछिको पुस्ताका नेताहरुको संसर्गमा नेता हुनतिर लाग्ने भन्दा सत्ता केन्द्रित राजनीतिमा पारङ्गत भैसकेका थिए। उनलाई प्रशिक्षित गर्ने बिपी पछिको पुस्ता संगको लामो संगतले उनले त्यहि दिव्यज्ञान पाएका थिए । हिजो योगदान गरेकाहरु सजिलै सत्तामा बिक्दै गए । जीवनको अन्तिम समयमा गिरिजा प्रसाद स्वयम् माओवादी प्रचण्डको राष्ट्रपतिको लोभमा फसे भनिन्छ ।
भगवान कृष्णको बाल चरित्रको बारेमा सुनेका अनेक कथाको मध्ये चोरेर मख्खन खाएको धेरै सुनिन्छ । एकपटक उनले आमाको आँखा अगाडी नै चोर्न पुग्छन आमाले देख्दा देख्दै उनि आत्तिएर भन्न पुग्छन "मै नही माखन खायो " अर्थात् मैले मखन खाएको छैन । पैले जिद्दी गर्छन रुन्छन कराउछन धम्काउछन् अनि स्वीकार गर्छन "मै नेहि माखन खायो " हो मैले नै मखन खाएको हुँ । सुर दासद्वारा रचित यो पंक्तिको सुन्दर पक्ष भनेको उनले खाएको हो भन्दा र हैन भन्दा एकै सुनिने बनाएका छन् |
कांग्रेसका पार्टी सभापतिको रुपमा र प्रधानमन्त्रीको रुपमा शेर बहादुरले आफुलाई दुइ अलग चरित्रका रुपमा उभ्याएका छन् | कार्यकर्ताको बिचमा प्रजातन्त्रवादी योद्धा जो सत्ताका सम्झौता गर्दैन बरु जेल जान तयार हुन्छ त्यस्तो चरित्र प्रस्तुत गर्न चाहन्छन तर जब सत्ता संचालनको कुरा हुन्छ, सत्ता समिकरणको कुरा हुन्छ उनि सत्ताका लागि जे पनि गर्न तयार पात्रका रुपमा अगाडी उभिन्छन । उनि एकैपटक दुइ अर्थ लाग्ने गरि बोल्छन | पार्टी कार्यकर्ताका अगाडी प्रजातन्त्रसंग सम्झौता नहुने बताउछन । भन्छन "सत्ताको लोभले गा छैन " तर सत्ताको लागि आफ्नै पार्टी कार्यकर्ताहरुसंग सामान्य छलफल समेत नगरेर लेनदेन गर्छन । पटक पटक प्रधानमन्त्री भएका शेर बहादुर सत्ता समिकरणका सहयात्रीसंग अनेक खाले सम्झौता गर्छन ।
पंचायत पृष्ठभुमिबाट आएका पुर्व पन्चहरुको पार्टीमा प्रजातन्त्रवादीहरुको बाहुल्य छैन । कमल थापा लगायतको समुहले सधै आफुलाई प्रजातन्त्रको दुरुपयोग गर्ने पात्रका रुपमा प्रस्तुत गरेका छन् । कम्युनिष्टइतरलाई एकै ठाउँमा ल्याउनुको अर्थ सबै प्रजातन्त्रवादी हुन् भन्ने हैन। गैर कम्युनिष्ट समुह भन्नु र प्रजातन्त्रवादी समुह भन्नु फरक कुरा हो । जुन सोचका काराण नेपालमा प्रजातन्त्र लगभग ५० बर्ष धकेलियो तिनलाई कम्युनिष्टसंग प्रतिसोध लिने सोचले घोर प्रजातन्त्रवादी देख्नु दृष्टिदोष मात्रै हो ।
कम्युनिष्ट पार्टीको झन्डा र नाम नै परिवर्तन गर्नेसम्मको चर्चा चलेको एमाले ४६ सालपछिको यतिका बर्षमा परिवर्तन हुन सकेन । प्रजातन्त्र माथि आउने अफ़्ट्याराहरुमा हरेक पटक अवसर छोप्ने पार्टीका रुपमा देखियो भने माओवादका नाममा हज्जारौ मारेर आएको माओवादीलाई १० बर्ष नपुग्दै प्रजातन्त्र र बहुदलिय पद्धति पूर्ण रुपमा स्वीकार गरेको पार्टीका रुपमा देख्नु र प्रचण्डसंगको नौ महिने सहकार्यकै आधारमा पुष्प कमल देख्नुलाइ कमजोर राजनीतिक विश्लेषण मान्नुपर्छ ।
अन्त्यमा तत्काल बैकल्पिक प्रजातान्त्रिक पार्टी वा शक्तिको उदय हुने नदेखिएको नेपाली राजनीतिमा कांग्रेसले आफुलाई सुधार गर्नुपर्छ र प्रजातन्त्रको संरक्षणको दायित्व पुरा गर्नु पर्छ भन्नेहरुको ठुलो समुह छ । तर सत्ताका लागि जुनसुकै समुह वा पार्टीसंगको सौदाबाजी कांग्रेस स्वयम्का लागि र प्रजातन्त्रका लागि प्रत्युत्पादक साबित हुनेछ । कांग्रेसले कम्युनिष्टहरुसंग फेरिपनि सत्ता सम्झौता गर्यो भने कांग्रेस र प्रजातन्त्रका लागि दुर्घटनाको बाटोको पछिल्लो सुरुवात मानिनेछ । पंचायतको तीस बर्ष र ज्ञानेन्द्रको शासन अवधिमा प्रजातान्त्रिक आन्दोलनमा धेरैले जेल जीवन बिताए। तुलनात्मक रुपमा थोरै मारिए ,हराए | नेपालमा कम्युनिष्ट शासनको सुरुवात भएको दिन यसको बिपरित हुनेछ | बिरोधीहरु जेल जानेछैन कम्युनिष्ट शासनमा बिरोधिलाइ एकमात्र बिकल्प दिइनेछ 'मृत्यु' ।