- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लिवाङ । गाउँपालिकाको नाम फेर्ने प्रस्ताव आएपछि पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकामा स्थानीयले विरोध गरेका छन् । गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाको नाम फेर्ने प्रस्ताव आएको थाहा पाउनासाथ स्थानीयले विरोध गरेका हुन् ।
स्थानीय तहबाट नै जनताको भावना र इच्छाविपरीत गाउँपालिकाको नाम फेर्ने प्रस्ताव गरिएको भन्दै सुवर्णावतीका स्थानीय रिसाएका छन् ।
गाउँ कार्यपालिकाको शुक्रबार बसेकोे बैठकमा सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी नयाँ नाम राख्ने प्रस्ताव गाउँपालिकाका प्रमुख गुनेन्द्र घर्तीमगरले ल्याएका थिए ।
१ नम्बर वडाका अध्यक्ष केशवलाल कुँवर, २ का वडाध्यक्ष नेत्रबहादुर गिरी, ३ का वडाध्यक्ष जेदबहादुर विष्ट र ४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्रीलगायतका गाउँ कार्यपालिकाका सदस्यले यो प्रस्तावको विरोध गर्दै विज्ञप्ति समेत निकालेका छन् ।
गाउँपालिकाको नाम फेर्ने प्रस्ताव विरोधबीच पारित गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सो प्रस्तावलाई रोक्न नसकेकोमा गाउँपालिकाका स्थानीयसामु उनीहरुले क्षमा पनि मागेका छन् ।
गाउँपालिकाको नाम फेर्ने निर्णय खारेजी माग समेत स्थानीयले गरेका छन् । विकासका कामलाई लत्याउँदै आफ्नो दम्भ लाद्न खोजेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘जनताको मुखमा झुण्डिसकेको यति सुन्दर र ऐतिहासिक नामलाई परिवर्तन गरी नयाँ नाम राख्ने कुरा जनतालाई अमान्य भएकोले यो प्रस्तावमाथि आपत्तिसहित असहमति जनाउदछौ ।’
गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीमगरले भने सुवर्णावती पौराणिक, साहित्यिक नाम भएको कारण अर्थ बुझ्न नसकेको र भावी सन्ततिका लागि पनि अर्थ भएको प्रमाणित नाम र शहीद सुनिलको नामबाट ‘सुनिल स्मृति’ नामाकरण गर्ने विषयमा छलफल भएको बताए । कतिपय स्थानीयवासीले सहमति जनाएको र कतिपयले असहमति जनाएकाले १२ पुसमा छलफल गरी टुंगोमा पुग्ने उनले बताएका छन् ।