arrow

नून र अन्न नखाएका जीवनाथ भन्छन् - भगवान्‌को भक्ति, भाव र अठोटले यो सम्भव भयो

logo
तीर्थ भटृराई,
प्रकाशित २०७४ चैत २० मंगलबार
jibannath.jpg

गोठगाउँ, मोरङ । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ? हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ ।

तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाएको मात्र छैन हाल त उनले २०६८ देखि त खाँदै आएको कन्दमूलसमेत त्याग गरेका छन् ।  

हाल ८२ वर्षमा हिँडिरहेका भट्टराई के अन्न र नून बिना रहन र काम गर्न सक्नुहुन्छ त ? भन्ने स्वाभाविक प्रश्नमा उनको उत्तर यस्तो छ— काम गर्नमा युवाहरुले भेट्दैनन् । मानिसमा भगवान्‌को भक्ति भावना र अठोट भयो भने यो सम्भव छ भन्ने कुरा उनले प्रमाणित गरेका छन् ।

सात वर्षकै उमेरमा उनले नून र अन्न खान छोडेछन् र आलु, तरुल, सख्खरखण्डजस्ता कन्दमूल खाए । यस्तै, खाएर नै उनले ७५ वर्ष व्यतीत गरे। यस्तो आहाराको भरमा पनि भट्टराई सामाजिक क्षेत्रमा सक्रिय रहे भने छरछिमेक मात्र होइन टाढाटाढाका आगन्तुकलाई पनि धामीका रुपमा उपचार गरी निको पार्दै आएका छन् ।  

भोजपुरको भुल्केमा १९९३ असोज ११ मा जन्मिएका  उनि त्यस बेला विद्यालय नभएकाले विद्यालय शिक्षा प्राप्त गर्न सकेनन्  भने घरमै अक्षर चिनी भागवत, रामायण, गीता आदि पढ्न सक्ने भए ।

युवावस्थामा एकपटक झापामा एकजना गुरुको भान्से बसेर काम गरेकोबाहेक अन्यत्र गई काम नगरेका उनि आफ्नै खेती किसानी तथा धार्मिक गतिविधिमा संलग्न भए । उनि यही क्रममा पहाड छोडेपछि सुनसरीको कालापानी (चक्रघटृी), रामधुनीको मानपुर, पकली, इटहरी बसाइँ सर्दै हाल गोठगाउँमा एउटा भगवतीको मन्दिर खडा गरी त्यहीँ श्रीमतीसहित बसेका छन् ।  

चार भाइ छोरा र एक बहिनी छोरीका पिता उनका छोराछोरी सबै छुट्टिएका र छोरीको विवाह भइसकेको छ । उनको धार्मिक लगाव र व्रत ध्यानका कामले सगोलमा बस्न सहज नभएको उनका साहिँला छोरा समाजसेवी शिव भट्टराई बताउछन् । छोरा कृष्ण र हरि छुटिृएका छन् भने कान्छा श्यामवावुको केही बर्ष अगाडि निधन भएपछि भने वृद्व जीवनाथ शोकमा परेका छन् ।  

बयासी वर्षे वृद्ध जीवनाथ पूर्णरुपमा स्वस्थ छन्  र अहिले पनि घरका सामान्य काम आफैँ गर्ने, खेतबारीमा खन्ने, एउटा गाई पालेर त्यसको स्याहार गर्ने, घाँस काट्ने आदि गर्छन् । उनको खान्की भने केवल दिनभरमा तीनवटा स्याउ रहेको छ । उनि त्यसलाई उसिनेर हलुवाजस्तो बनाएर अलिअलि खाने गर्छन् ।

उनि चिया खादैनन् , खाएमा घरकै तुलसीको धुलोको चिया मात्र, दूध खाएमा घरमै पालेको कैली गाईको दूध मात्र खानेगर्छन् । कामधेनु गाई भन्नु नै कैली गाई हो त्यसको दुधमा शक्ति हुन्छ भन्छन् , जीवनाथ ।

एकपटक सामान्य चोटपटक लागेर विराटनगर अस्पताल लगिएकोमा डाक्टरले उनि पूर्ण स्वस्थ भएको, कुनै रोग नभएको, बरु अलिकति केही खाइदिए राम्रो हुने भन्ने सुझाव मात्र दिएको छोरा शिव बताउछन् ।  

उनि केही नखाइ पनि बाँच्ने अभ्यास गर्छन् । केही नखाइ कसरी यस्तो शक्ति प्राप्त हुन्छ र निरोगी भइन्छ त भन्ने जिज्ञासामा जीवनाथ भन्छन् , 'आफ्ना बुबा भवानीप्रसाद भट्टराई पनि यस्तै ध्यानी भएकाले आफूले पनि आत्मज्ञानबाटै नून, अन्न छोडी भगवान्को ध्यान र व्रत गरेकाले नै शक्ति प्राप्त भएको हो ।' उनले घरमै भगवतीको मन्दिर स्थापना गरेका छन् भने ‘बूढीबज्यू’ भनिने भगवतीको आस्था र पूजा गर्छन् ।

उनि वैशाखे पूर्णिमा, ऋषि तर्पणी आदिमा २४ अ‍ै घण्टा नखाइ व्रत बस्छन् भने नौरथामा पनि पञ्चमीदेखि सप्तमीसम्म केही नखाइ व्रत बस्छन् । उनले चिनी पनि त्यागेका छ् ।  

जीवनाथ आफ्नो ब्रत र ध्यानले नै स्वस्थ र सक्रीय रहन सफल भएको इटहरी—४ का मच्छिन्द्रवहादुर बस्नेत र भरत खतिवडा बताउछन् ।

उनि गाईको मोही भने खान्छन् । बुहारी भावना नेपालका अनुसार आमा सावित्रादेवी पनि निरोगी छन् र सामान्य खाना खान्छिन् तर उनले पनि नून तेल छडिन् र अलिनो खान्छिन् , घरबाहिरको घिउ पनि खादिन्न् ।

जीवनाथले आफ्नो शक्तिबाट धेरैलाई रोगमुक्त पार्छन् भने उनबाट आरोग्य प्राप्त गर्न झापा, सुनसरीलगायत विभिन्न जिल्ला का साथै काठमाडौं तथा भारतको आसाम, सिक्किमबाट समेत मानिसहरु आउँछन् र सन्तुष्ट भएर जान्छन् ।

उनले यही शक्ति र सक्रियताबाट नै विभिन्न संघसंस्थामा रही कार्य गरेका छन्  भने भट्टराई कूल विकास प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा समेत कार्य गरी गोठगाउँमा देवली गराउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

यसरी भगवानको  भक्ति र व्रतको शक्तिबाट वृद्धावस्थामा पनि निरोगी र सक्रिय रही समाजमा योगदान गर्न सकिन्छ भन्ने कुरा वृद्ध ध्यानी जीवनाथले प्रमाणित गरेका छन् ।  

 



लोकप्रिय समाचार
नयाँ