arrow

चितवनमा नयाँ चरा फेला

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
new-bird.jpg.jpeg
रत्ननगर (चितवन) । चितवनमा फेरि एउटा नयाँ चरा फेला परेको छ । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा चरा विज्ञ वासु बिडारीले जिल्लामा फेला परेको चरा नयाँ भएको पुष्टि भएको जानकारी दिए ।चितवनको मुख्य कार्यालय कसराबाट एक किलोमिटर पश्चिम पर्ने राप्ती नदीको दोभानमा उक्त चरा भेटिएको हो । ग्रेट ह्वाइट फ्रन्टेड नामको पानीमा बस्ने चरा फेला परेको हो । पाँच दिनअघि घुम्ने क्रममा नेचर गाईड हेमन्त दराई र उस्तव जङ्ग थापाले देखेर चराको तस्बिर लिनुभएको थियो । 
 
प्रमाणित गर्न फेरि चितवनका चराविज्ञ बिडारीसहितको टोली माघ २१ गते सो क्षेत्रमा गएर हेरेको थियो । त्यसपछि पानी हाँस प्रजातिको नयाँ चरा भएको पुष्टि भएको हो । सो क्रममा अर्को विन गोस नामको चरासमेत फेला पारिएको बिडारीले शुक्रबार जानकारी दिए । ग्रेट ह्वाइट फ्रन्टेड नेपालमा एकपटक १२ वर्ष पहिले पूर्व कोसी टप्पुमा देखिएको थियो । तर त्यसपछि नदेखिएको चरा चितवनमा पहिलो पटक अभिलेख गरिएको हो । 
 
चितवनमा पहिलो पटक देखा परेको र विन गोस चरा भने चितवनमा विगतमा देखिए पनि थोरै सङ्ख्यामा छ । चितवनमा यो नयाँ चरा भेटिएसँगै चराका प्रजातिको सङ्ख्या ६३१ पुगेको छ । नेपालमा ८७५ प्रजातिका चरा रहेका छन् । चितवनमा हालै सम्पन्न चरा गणनामा चराको बासस्थान राम्रो पाइएको थियो । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लाको निकुञ्ज आसपास सिमसार क्षेत्रमा मात्रै यसपालि ५० प्रजातिका ११ हजार २६० वटा चरा फेला परेका छन् । 
 
यो अघिल्लो वर्षभन्दा तीन प्रजाति र करिब दुई हजारले बढी रहेको चरा विज्ञ बिडारीले बताउनुभयो । पानीमा मात्रै आश्रित चरा पाँच हजार ७०० फेला परेका छन् । अघिल्लो वर्ष सो क्षेत्रमा गरिएको गणनामा ४७ प्रजातिका नौ हजार चरा फेला परेको थियो । “अहिले बासस्थान र चराको उपस्थिति राम्रो पाइयो” अध्ययनबारे जानकारी दिँदै बिडारीले भने, “सबैभन्दा बढी चखेवा पाइए ।” 
 
यो पटकको गणनामा चखेवा मात्रै दुई हजार ४६८ वटा फेला पारिएको छ । यस्तै कर्मोरेन्ट (जलेवा) एक हजार २४ वटा भेटिएको छ । अघिल्लो वर्ष नदेखिएका तीन प्रजाति सुनजुरे हाँस, कैले टाउके हाँस र विजुलीगैरे हाँस पनि यो वर्ष फेला परेको बिडारीले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ