लगानीकर्ताहरुले नेप्से कार्यालयमा यसरी देखाए आक्रोश (भिडियो)
प्रकाशित २०७५ मंसिर १० सोमबार
396
Shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सुरु गरेको अनलाईन कारोबारमा निरन्तर समस्या आएपछि सोमबार सेयर बजारका लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जको कार्यालय घेराउ गरेका छन् । अनलाईन कारोबारको नाममा लगानीकर्ताहरुलाई झन्झट मात्रै दिएको भन्दै उनीहरुले तत्काल अनलाईन सेवा सञ्चालनमा ल्याउन माग पनि गरेका थिए । सञ्चालनमा ल्याउन नै नसक्ने हो भने यतिका धेरै खर्च गरी अनलाईन सेवाको उद्घाटन समेत गरिनुमा भ्रष्टाचार रहेको भन्दै उनीहरुले यसको छानविन गर्न समेत माग गरेका थिए ।
अनलाइन कारोबारको युजरनेम र पासवर्ड तत्काल दिनुपर्ने उनीहरुले माग गरिरहँदा नेप्सेले भने यस विषयमा छलफल गरेर मात्रै निर्णय दिन सकिने जनाएको थियो । लगानीकर्ताहरुले भने बजार बन्द गराएर भएपनि यो समस्याको समाधान गराउनु पर्ने माग गरेका छन् । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने गरी गत कात्तिक २० गते नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रणालीको शुभारम्भ गरेका थिए।
शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेभनिएको भएपनि यो एक दिन पनि सञ्चालनमा आउन सकेको थिएन । स्टकले गत साउन १ गतेदेखि परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको बतार्इएको थियो।
यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने बाध्यता थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलालमार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्नेछन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए।
व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुङ्गा सावित हुने विश्वास स्टकले लिएको छ ।गत साउन १ गतेदेखि परीक्षणको रुपमा रहेको उक्त प्रणालीको सञ्चालनपछि बजार विस्तार हुने, कारोवारमा वृद्धि हुने तथा शेयरमा लगानीकर्ताको समेत बढावा हुने बताइएको भएपनि उद्घाटन पछि यो चल्नै नसक्दा लगानीकर्ताहरु आक्रोशित भएका हुन् ।