- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । दाङको लमही नगरपालिका–९ रिहारमा जन्ती सवार स्कार्पियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । बुधबार राति चितवनबाट जन्ती लिएर फर्किंदै गरेको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कार्पियोमा रहेका ८ जनामध्ये ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुलाहाका आमा, बाबु र आफन्त छन् ।
दुलाहाका बुबा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया आमा बिमला, ५ वर्षीय प्रविण केसी, ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४५ वर्षीया गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । घाइतेको कोहलपुरमा उपचार भइरहेको छ ।
दुलाहा–दुलही भने अर्को स्कार्पियोमा थिए । उनीहरु सुरक्षित छन् । बाँकेको समशेरगञ्जतर्फ जन्ती लिएर फर्किंदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।