arrow

क्षेत्रीय शहरी विकास आयोजना अन्योलमा

logo
सिद्धराज भट्ट,
प्रकाशित २०७५ पुष ८ आइतबार
dhangadimai.png

 धनगढी ।धनगढी उपमहानगरपालिका क्षेत्रमा कार्यान्वयनमा आउने भनिएको क्षेत्रीय शहरी विकास आयोजनाको काम अघि बढाउन अन्योलता देखिएको छ ।

क्षेत्रीय शहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको समझदारीबमोजिम उपमहानगरपालिकाले अहिलेसम्म एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र(ल्याण्डफिल साइड) स्थापना गर्न गरेको ढिलाइले आयोजनाको काम अघि बढाउन अन्योलता देखिएको हो ।

उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापना नगरेसम्म अरु कामअघि बढ्न नसक्ने सर्त एडिबीको रहेकोले उक्ता आयोजनाको समयमै कार्यान्वयन गर्न समस्या सिर्जना भएको बताए ।

‘‘फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिकाको मोहना नदी किनारको शान्ति कटानमा जग्गा खोजिएकोमा स्थानीयवासीको विरोध हुँदा समस्या भएको छ, प्रवक्ता मुडभरीले भने,“फोहर व्यवस्थापन केन्द्र कहाँ स्थापना गर्ने भनेर उपमहानगरपालिकाको तर्फवाट छलफल र प्रयास जारी रहेको छ ।”

आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा विभिन्न सडकको स्तोरोन्नति एवं निर्माण र नाली निर्माणका लागि करीब रु एक अर्ब २५ करोड, दिसाजन्य पदार्थ व्यवस्थापनका लागि करीब रु ३५ करोड, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि करीब रु ६० करोड वजेट विनियोजन गरिएको जनाइएको छ ।

उक्त केन्द्र निर्माणका लागि जग्गाको टुङ्गो लाग्न नसक्दा आयोजनाको सम्पूर्ण कामनै ठप्प भएको क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ धनगढीका उप व्यवस्थापक श्यामचन्द्र बुढाथोकीले बताए । उक्त केन्द्र निर्माण गर्ने विषयमा जग्गा खोजेर टुङ्गो नलागेसम्म कुनै पनि काम अगाडि नबढाउन माथिबाट नै निर्देशन आएको उपव्यवस्थापक बुढाथोकीको भनाइ छ ।

यो आयोजना कार्यान्वयन गर्नका लागि आवश्यक डिजाइन र लागत इष्टमेट लगायतका काम अन्तिमचरणमा पुगेको भएपनि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि जग्गाको टुङ्गो नलाग्दा अन्योलता देखिएको बुढाथोकीले बताए।

एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा कार्यन्वयन हुने भनिएको पाँचवर्षे अवधिको यो आयोजनाअन्तर्गत उपमहानगर क्षेत्रका साना ठूला एक दर्जन बढी सडकको स्तरोन्नति एवं निर्माण गर्ने लक्ष्य छ । यसअन्तर्गत धनगढीको मुख्य बजारको सडकका साथै धनगढीदेखि खुटिया सडक, चटकपुर रिङ्गरोड, चटकपुर क्याम्पस रोड हुँदै जाखोर ताल सडक, धनगढी गाउँ सडक, बेली सडक, बोराडाँडी तारानगर सडक, पुरानो भन्सार रोडलगायतका सडकको स्तरोन्नति गने लक्ष्य रहेको छ ।

धनगढी क्षेत्रमा सडक ढललगायतका पूर्वाधार निर्माणका लागि कार्यान्वयनमा ल्याउने भनिएको यो आयोजना पूर्णरुपमा कार्यन्वयन भएपछि यस क्षेत्रको सडकलगायतका पूर्वाधारको विकासले फड्को मार्ने विश्वास गरिएको छ । यो आयोजना सुदूरपश्चिम प्रदेशको धनगढी उपमहागरपालिका बाहेक कैलालीको गोदाबरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा समेत कार्यान्वयन हुन लागेको जनाइएको छ ।

गोदाबरी नगरपालिकामा यो आयोजनाअन्तर्गत नगरपालिका कार्यालय भवन निर्माण, हसनपुर स्याउले सडक, गेटा अस्पतालदेखि जोनापुर सडक, हरैया चौराही रोड, लालपुर चौमाला रोड, लालपुर गेटा अस्पताल रोड निर्माणलगायतका काम गर्न लागिएको जनाइएको छ ।

बिना योजना शहरका रुपमा विकास हुँदैगएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोवास आदि मुख्य समस्याका रुपमा रहेका छन् ।

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई झण्डै तीनवर्ष अघि साविकको फूलबारी र उर्मा गाविसलाई समेटेर धनगढी उपमहानगरपालिका बनाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ