arrow

कांग्रेसका क्रान्तिकारी अगुवा अधिकारीको निधन, को हुन् शिवकुमार ?

बाँचुन्जेल बेवास्तामा परेका उनको पार्थिव शरीरमा परिवारले पार्टीको झण्डा ओढाउन दिएन 

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
shiva_kumar_adikhari_syanjga.JPG

पोखरा । नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको ७९ वर्षको उमेरमा निधन भएको छ ।

मस्तिष्कघातका कारण ४ महिनादेखि उपचार गराइरहेका स्याङ्जा निवासी अधिकारीको काठमाडौंमा मंगलबार निधन भएको हो । काठमाडौंबाट स्याङ्जा पुर्याएर अन्तिम श्रद्धाञ्जलीपछि रामदीघाटमा बुधबार साँझ उनको अन्त्येष्ठि गरिएको छ । 

बुधबार बिहान राङखोला बजारमा श्रद्धाञ्जलीका लागि शव राखेर रामनदी धाममा अन्त्येष्ठि गरिएको छ । शिवकुमारका २ श्रीमती, ३ छोरा, १ छोरी छन् ।

शिवकुमारका जेठा छोरा सुवोध सशस्त्र प्रहरीको एआइजीबाट निवृत्त हुन् । अर्का छोरा शरद निजामती सेवामा छन् । 

शिवकुमारको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, धनराज गुरुङ, नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल,प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य, कांग्रेस तथा नेकपाका नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 

यसैबीच, कांग्रेस स्याङ्जाले समाजसेवी, बौद्धिक व्यक्तित्व, प्रजातन्त्र सेनानी अधिकारीको निधनले नेपाली कांग्रेस स्याङ्जा गहिरो चोट परेको बताएको छ ।

जिल्ला प्रवक्ता इन्द्र गोदारले जारी गरेको विज्ञप्तिमा अधिकारीको शोकमा कांग्रेस स्याङ्जाको कार्यालय ३ दिनसम्म बन्द गर्ने, पार्टीको झण्डा १३ दिनसम्म आधा झुकाउने र पार्टी कार्यालय स्याङ्जामा शोक पुस्तिका राख्ने उल्लेख छ । 

झण्डा ओढाउन रोक 

जीवनको ठूलो कालखण्ड शिवकुमारले पार्टीकै लागि खर्चे । तर पार्टीभित्र हुने खिचातानी र पदीय भागबण्डाको जहिले पनि विरोध गरिरहे । उनी शिवकुमारको शवमा परिवारका सदस्यले पार्टीको झण्डा ओढाउन मानेनन् । 

स्थानीय नेता र कार्यकर्ताहरु पार्टीको झण्डासहित शव राखिएको ठाउँ सोपान बोर्डिङ स्कुलको प्रांगणमा पुगे पनि छोराहरु सुवोध, शरद लगायत परिवारका सदस्यले मृत्युपछि झण्डा ओढाउनुको कुनै औचित्य नरहेको बताउँदै अस्वीकार गरे । 

परिवारका १ सदस्यले भने, ‘प्रजातन्त्रको रक्षामा अतुलनीय योगदान पुर्याएको कदर नहुने, बाँचुल्जेल पार्टीको उपल्लो तहले बेवास्ता गर्ने अनि मृत्युपश्चात झण्डा ओडाउन खोज्नुको औचित्य नभएकाले  अस्वीकार गरेका हौं ।’ 

को हुन् शिवकुमार ?
विसं १९९७ वैशाख २० मा जन्मेका उनी २०१७ साल पुस १ गतेको कू पछि राजनीतिमा होमिएका थिए । जिल्ला कार्यसमिति स्याङ्जाको सदस्य, सचिव हुँदै महाधिवेशन प्रतिनिधि र महासमिति लगायत पदमा रहेर जीवनभर पार्टीमा क्रियाशील रहे ।

उनी लामो समय शिक्षण पेसामा पनि आबद्ध रहे । उनी अंग्रेजी शिक्षक हुन् । 

कांग्रेसले आह्वान गरेको सशस्त्र आन्दोलनमा उनी निडर रुपमा खटिएका थिए । त्यही क्रममा उनी २०३१ साल साउन ४ गतेको बमकाण्डमा हातहतियारसहित पक्राउ परेका थिए ।

त्यसपछि उनले हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष ७ महिना जेलजीवन बिताए । जेलबाट निस्केपछि उनी ३ वर्ष भन्दा बढी निर्वासित पनि हुनुपर्यो । 

नेपालमा लोकतन्त्र स्थापनार्थ निरंकुश पञ्चायत व्यवस्थाको विरुद्ध रगलेहस्ताक्षर गरी प्रतिवद्धता जाहेर गर्ने स्याङ्जा कांग्रेसका ५ नेतामध्ये उनी १ हुन् ।

शिवकुमार २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला विकास समिति स्याङ्जाको सभापति निर्वाचित भएका थिए ।

सभापतिको कार्यकाल सकिएपछि उनी राङखोला बजारमा कुटानी पिसानी मेसिन सञ्चालन गरेर बसे । 




लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ