arrow

वालिङको पूरक संशोधित बजेट ७१ करोड ५४ लाख

वालिङ नगरपालिकाको पाचौं नगर सभा सकियो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष १३ शुक्रबार
waling-nagarpalika.jpg

स्याङ्जा। वालिङ नगरपालिकाको सम्पन्न पाँचौं नगर सभाले चालु आर्थिक वर्ष २०७५-०७६ का लागि पूरक संशोधित बजेट एकहत्तर करोड ५४ लाख ५२ हजार ५ सय ६० रुपैयाँ पारित गरेको छ। वालिङ नगरपालिकाका उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना तिवारीले पाँचौं नगर सभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रम पारित भएको हो।

वालिङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि गत असारमा ५६ करोड ७१ लाख ८५ हजारको अनुमानित बजेट प्रस्तुत गरिएकोमा पाँचौं नगरसभाले चौध करोड ८२ लाख ६७ हजार ५ सय ६० रुपैयाँ संशोधन गरी कूल एकहत्तर करोड ५४ लाख ५२ हजार ५ सय ६० रुपैयाँ पूरक संशोधित बजेट प्रस्तुत गरिएको हो।

चालु आर्थिक वर्षको संशोधित बजेटमा वित्तिय समानीकरण अनुदान रु १४ करोड ६३ लाख, सशर्त अनुदान रु २८ करोड ९४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण सशर्त अनुदान रु १ करोड ६२ लाख, राजश्व बाँडफाँड रु ९ करोड १७ लाख ३५ हजार, सडक बोर्ड नेपालबाट रु ५५ लाख, गरीवसँग विश्वेश्वर कार्यक्रम रु ५ लाख ६८ हजार, सामाजिक सुरक्षा जेष्ठ नागरिक सम्मान कार्यक्रम रु ९ करोड ६३ लाख ६० हजार र गतवर्षको मौज्दात अल्या रु ४ करोड ५८ लाख ३९ हजार ५ सय ६० गरी चालु आर्थिक वर्षको पूरक संशोधित बजेट प्रस्तुत भएको हो।

नगरपालिकाले नीति बजेट तथा कार्यक्रमहरु र बजेटका प्राथमिकताहरु गत असारमा विनियोजन गरिएका प्राथमिकताहरु भएकाले नीति तथा कार्यक्रमहरु एवम् बजेटका प्राथमिकताहरुलाई यथावत राखेको छ भने वालिङ नगरपालिकालाई स्मार्ट सिटी निर्माणको गतिलाई आत्मसात गरी छिटोभन्दा छिटो स्मार्ट सिटीमा अवतरण गर्ने सहजताका लागि ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, सूचना प्रविधि र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणको छ आधार’ अभियानलाई अगाडि सारिएको नगर उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तिवारीले बताइन्।

यसैबीच पाँचौं नगरसभाले चालु आर्थिक वर्षका लागि थप नीति तथा कार्यक्रमहरु पारित गरेको छ। वालिङ नगरपालिकाको विकास तथा निर्माण कार्यहरु वालिङ नगरपालिकाको स्मार्ट सिटी योजनाका १७ वटा बूँदा अनुसार गर्ने र यसको कार्यान्वयनका लागि नगरको वार्षिक बजेट, पिपिपि मोडल र दातृ निकायसँगको माध्यमबाट गर्ने, विकास निर्माण कार्यहरु प्रदेश सरकार र संघीय सरकारसँग समन्वय सहयोग र सूचना आदान प्रदान विधिद्वारा गर्ने, फोहोर मैलालाई आधुनिक प्रविधि प्रयोग गरी श्रोतकोरुपमा उपयोग गर्ने, ब्यवस्थित शहरी विकास गर्नका लागि ल्याण्ड पुलिङको कार्य गर्न केही स्थानमा नपाको पाईलट प्रोजेक्टकोरुपमा विकास गर्ने र सुर्कौदीलाई ब्यवस्थित शहरकोरुपमा विकास गर्ने, सिद्धार्थ राजमार्गलाई चौडा गरी ब्यवस्थित गर्ने नीति तथा कार्यक्रमहरु रहेका छन्।

त्यस्तैगरी माझी, दलित, गुरुङ, मगर, कुमाल, मुस्लिमहरुको संस्कृति संरक्षणका लागि आवश्यक कार्य गर्ने, गरीवीको कारण समाजमा हेयभाव रही रहेको अवस्था विद्यमान भएकाले नगरका १४ वटै वडामा खरका छाना भएका घरहरुको लगत लिने र नगर भित्र खरको छानारहित अभियान सञ्चालन गर्ने, नगरभित्र स्वास्थ्य शिविर सञ्चालन तथा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने, नगरभित्र स्मार्ट खानेपानीका लागि एकीकृत योजना कार्यान्वयन गर्ने, स्मार्ट शिक्षाका लागि आवश्यक पूर्वाधारहरुको योजना निर्माण गरी कार्यान्वयन गर्ने, निरीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउने, वालिङ प्रोडक्ट होल्डिङ कम्पनी स्थापना गर्ने, नगरपालिका भरी सुलभ शौचालय निर्माण गर्न अन्य निकायसँग समन्वय गर्ने नीति तथा कार्यक्रमहरु थप गरिएको छ।

वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न पाँचौं नगर सभामा उठेका विभिन्न जिज्ञासाहरुको सहजीकरण नगर प्रमुख खाँण एवम् उपप्रमुख तिवारीले गरेको नगर प्रवक्ता केदार काफ्लेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ