arrow

गैरदलित युवतीसँग प्रेम गरेको निहुँमा जनप्रतिनिधिबाट युवक कुटिए

पिडितका बुवासँग १४ लाखको कपाली तमसुक बनाउन लगाइयो

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
sarlahi.png

सर्लाही। सर्लाहीमा एकजना दलित युवकलाई गैरदलित युवतीसँग प्रेम सम्बन्ध राखेको निहुँमा ठुलो जातीको कहलाउन चाहने जनप्रतिनिधि र गाउँहरुको हातबाट मरनासन्न हुने गरी कुटिनु परेको छ। पिडित युवक न्यायको लागि गुहार माग्दै सदरमुकाम मलंगवामा रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याणको शरणमा पुगी उनीहरुको विरुद्धमा संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दर्ता गराएको छ।

जिल्लाको ब्रम्हपुरी गाउँपालिका निवासी गगनदेव राम चमारका १८ वर्षिय छोरा जयनाथ राम चमारलाई सोही गाउँकी १७ वर्षिया युवती सलमा बैठा मुस्लिम सँग प्रेम सम्बन्ध राखेको निहुँमा कुटिनु परेको हो। एक अर्कासँग प्रेम सम्बन्धमा बाँधिएका पिडित जयनाथ र सलमा १ महिना सम्म भारतको सितामढी जिल्लामा बसेर केही दिन अगाडि गाउँ फर्किएका थिए।

उनीहरु गाउँ फर्किएको केही दिन नबित्दै वडा अध्यक्ष श्यामबाबु राय र रघुबीर रायले अपहरणको शैलीमा पिडित युवकलाई घरबाट उठाउन लगाएर एकान्त बाँसको घारीमा लगेर मरनासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिट गरेपछि उनीहरुले उनका बुवा गगनदेव सँग १४ लाख रुपैयाको कपाली तमसुक समेत गराउन लगाएको पिडितले जिप्र कार्यालयमा दर्ता गराएको उजुरीमा उल्लेख गरिएको छ।

पीडित बाबुछोराले नेपाल राष्ट्रिय दलित समाज कल्याण सर्लाहीमा न्यायको लागि निवेदन दिएसँगै घटनाका दोषीहरुलाई कारबाहीको माग गदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको संस्थाका अध्यक्ष राजेश पासवानले बताए।

गत पुस ९ गते आफुमाथि घटना घटेपछि संस्थाको सहयोगमा ११ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दर्ता गराएको र हाल सम्म न्याय नपाएको पिडित जयनाथले बताए। पीडितका अनुसार घटना घटेको करिब ३ घण्टापछि ब्रम्हपुरी गापाकी उपप्रमुख गिता रायको घरमा बसेर बुवा सँग जबर्जस्ती १४ लाख रुपैयाको कपाली तमसुक गराइएको थियो।

संस्थाका अध्यक्ष एवं दलितअधिकारकर्मी पासवानले जिप्रकार्यालयमा ११ गतेनै घटनाको बारेमा उजुरी दर्ता गराइएको भएपनि हालसम्म घटनाको दोषीलाई पक्राउ नगरेको गुनासो गरे। घटना बारे बुझ्दा जिल्ला प्रहरी कार्यालयका एसपी पोखराज पोखरेलले घटना अनुसन्धान भइरहेको र चाडै नै मुद्धा दर्ता गरी मुद्धा चलाइने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ