arrow

पर्शुराममा महामहोत्सव हुने

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
parsuram-mela-2018.jpg

डडेल्धुरा। भगवान विष्णुको छैटौं अवतारको रुपमा चिनिने भगवान पर्शुरामको तपस्या गरेको प्रसिद्ध तिर्थस्थल पर्शुराममा महामहोत्सव आयोजना हुने भएको छ। पर्शुराम नगरपालिकाको आयोजनामा पहिलो पटक हुन लागि रहेको पर्शुराम धार्मिक पर्यटन महामहोत्सवमा संगितमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, मकर महास्नान, २२ देउरा दर्शन, कल्पवास, महाकाली गंगा आरती, सहस्त्र शालिग्राम पूजाअर्चना, बिराट धनधान्याञ्चल पितृमुक्ति लगायतका बिबिध धार्मिक साँस्कृतिक एवं पर्यटकिय कार्यक्रमहरु यहि पौष ३० देखि माघ ८ गते सम्म संचालन गरिने भएको हो।

शुक्रवार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था पर्शुराम नगरपालिकाले भगवान पर्शुरामको जन्मस्थान र पवित्र तिर्थस्थलको महत्व उजागर गरि धार्मिक पर्यटकिय क्षेत्रको रुपमा पहिचान गरि प्रचारप्रसर गर्ने उद्देश्यले महामहोत्सवको आयोजन गर्न लागिएको नगरप्रमुख भिम बहादुर साउँदले जानकारी दिएका छन्। 

प्रत्येक वर्ष भव्य मकर माघीसंक्रान्ति मेला लाग्ने सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाको वडा नं. ५ शिर्ष परिगाउँमा अवस्थित हिन्दु धर्माबलम्बीको आस्थाको केन्द्र मानिने र सुदूरपश्चिमकै प्रसिद्ध परशुरामधाममा पर्शुरामकुण्ड, विष्णुमन्दिर, धर्मद्वार, छत्रशिला, महालिङ्ग, महाकाली गंगा र रेणुका नदी, पवित्रघाट, देवघाट, परितिर्थ, लिङ्गाहरु, पर्शुराम र सिद्धनाथ मन्दिर जस्ता धार्मिक महत्वका सम्पदाहरु मुख्य आकर्षण रहेका छन्। 

स्कन्दपुराणको मानसखण्डमा कर्णालीको कागपर्वत र पश्चिमको अल्मोडा नन्दा पर्वतगिरि बिचको मानसक्षेत्र बराबर अर्को कुनै तिर्थ छ भने त्यो परशुराम हो भनि उल्लेख भएको र भगवान बिष्णुको अवतार परशुरामले हजारौं वर्ष यज्ञतप गरेकोले तिर्थस्नानको ठूलो मेला लाग्ने गरेको हो । 

त्रेतायुगमा महर्षि जमदग्नी पुत्र भगवान परशुरामले कोटी होम गर्दा जलेर रहेको जौं तिल–पछि आएर सानासाना गिट्टी जस्तै देखिने हजारौं वर्ष देखि जस्ताको तस्तै रहेको चुनढुंगाको चट्टान र सो ठाउँमा रहेको प्राकृतिक रुपमा निर्मित गुफा तथा टोडकामा प्रबेश गर्दा मुनुष्यजीवनको मोक्ष हुन्छ भन्ने जनविश्वासका कारण पनि परशुरामधाममा मेला भर्नेको संख्या बर्षेनी बढदै गएको छ।

डडेल्धुरा सदरमुकामबाट अन्दाजी ९७ किलोमिटर टाढा भित्रिमधेशको जोगबुढाक्षेत्रको सिमाबर्ति महाकाली तटमा पर्ने यो प्रसिद्ध गंगास्नान तिर्थमा उत्तरभारत लगायत सुदूरपश्चिका नौ वटै जिल्ला र कर्णाली क्षेत्रबाट समेत तिर्थयात्री आई पितृश्राद्ध ,ब्रतबन्ध , बिवाहका साथै धार्मिक अनुष्ठान गर्ने परम्परा रहि आएको छ।

संगितमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ धार्मिक महामहोत्सवमा अन्तराष्ट्रिय भागवत प्रवक्ता श्री पुज्य किशोर शरण महाराजको सानिध्यमा सम्पन्न हुने पनि आयोजकले बताएका छन। 



नयाँ