arrow

हात्तीले उठिवास लगायो, पीडितलाई त सरकारले पनि वास्ता गरेन  

logo
प्रकाश मैनाली, 
प्रकाशित २०७५ पुष १७ मंगलबार
Elephant-1-750x500.jpeg

सर्लाही । सर्लाहीका हात्ती पीडित नागरिकले अहिलेसम्म राहत पाउन सकेका छैनन् । एक महिनाको अन्तरालमा जंगली हात्ती १९ घर भत्काउनुका साथै करिव ४–५ बिगाहा जग्गामा लगाएको अन्न र तरकारी बाली नष्ट गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । 

पर्सा वन्यजन्तु आक्षणबाट आएको जंगली हात्तीले लालबन्दी नगरपालिका  र ईश्वरपुर नगरपालिकाको विभिन्न वडामा दुख दिने गरेको छ। 

दिउँसो जंगलमा बस्ने  हात्तीले रातको समयमा गाउँमा  पसेर घर भत्काउनुका साथै अन्न वालीनली नष्ट पारेको पत्थरकोटका स्थानीय नारायण मगरले गुनासो गरे । 

तीन वटाको संख्यामा रहेको जंगली हात्तीले अन्न र तरकारी बाली कुल्चिएर नष्ट पारे पनि अहिलेसम्म आफुहरुले कुनै राहत नपाएको र राति राम्रोसँग सुत्न नपाएक‍ो गौरीशंकरका राजु आलेले गुनासो गरे । अहिलेसम्म हात्तीबाट पीडित भएका २ जनाले क्षतिपूर्तिको लागि निवेदन दिएको र अन्यको पनि क्षतिपूर्तिको लागि  निवेदन आउने क्रम जारी रहेको डिभिजन  प्रमुख देवले जानकारी दिए । 

जंगली हात्तीले क्षति पुर्याएका घर अन्न बाली तरकारीको क्षतिपूर्ति लिनका लागि स्थानीय निकाय र सामुदायिक वनको सिफारिस सहित लालपुर्जाको फोटोकपी पेश गरेपछि स्थलगत अनुगमन गरि पीडितलाई १० हजारसम्म क्षतिपूर्ति पाउने उनले बताए । 

प्रत्येक वर्षको हिउँदको समयमा आरक्षणबाट जंगली हात्ती आएपछि स्थानीयलाई जंगल गएर घाँस दाउरा  गर्नसमेत मुस्किल परेको छ । 

सर्लाहीको जंगलमा हात्तीलाई बस्ने बास र खाने आहार पर्याप्त भएकाले पनि लामो समय सम्म जंगली हात्ती सर्लाहीको जंगलमा बस्ने गरेको छ। धेरै दिनदेखि हात्ती पर्सा वन्यजन्तु आरक्षणतर्फ फर्काउने प्रयास गरेपनि अहिलेसम्म फर्काउन सकिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ