arrow

'विद्युत् पनि छैन, टेलिफोन पनि छैन कसरी काम हुन्छ ?'

logo
रासस,
प्रकाशित २०७५ पुष १८ बुधबार

खोटाङ। विकासको हरेक खुड्किला पार गर्न विद्युत् र टेलिफोन अति आवश्यक पूर्वाधार हुन्। विकासको मुख्य पूर्वाधार सडक हो तर, सँगै टेलिफोन र विद्युत् भएन भने विकास सार्थक हुँदैन भन्ने उदाहरण जन्तेढुङ्गा गाउँपालिकालाई हेरे पुग्छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने छ वटा वडा रहेको जन्तेढुङ्गा गाउँपालिकामा विद्युत् र सञ्चारको विकास हुन सकेको छैन। स्थानीय तह गठन भएको डेढ वर्षको अवधिमा गाउँपालिकाले प्रत्येक वडा कार्यालयसम्म पुग्ने मोटरबाटो त बनायो, स्तरोन्नतिका लागि भने अझै पनि सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ तर, उक्त स्थानीय तहका अधिकांश ठाउँमा विद्युत् र टेलिफोनको सुविधा छैन।

गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर राईले आगामी तीन महीनाभित्र गाउँपालिका कार्यालय रहेको स्थान चिसापानीमा केन्द्रीय प्रसारणको विद्युत् बाली सक्ने बताए। “अहिले बजार क्षेत्रका प्रत्येक घरमा वायरिङ गरिसकिएको छ ।” उनले भने, “चाँडै नै विद्युत्को केन्द्रीय लाइन जोडिन्छ। त्यसपछि गाउँपालिकाको सबै वडा अन्धकारमुक्त बन्छ।” गाउँपालिका उपाध्यक्ष विमला राईले विकासको हरेक गतिविधिलाई यिनै विद्युत् र सञ्चारले अवरोध गरेको बताईन्। विद्युत् र सञ्चारको कारण यहाँका विकास समेत ओझेलमा परेको उनको भनाइ छ।

स्थानीय जनप्रतिनिधि र कर्मचारी निरन्तर गाउँपालिकाको समृद्धिको लागि लागिरहेका छन्, निरन्तर काम गरिरहेका छन् तर, गरेको गतिविधि सार्वजनिक नहुँदा यहाँको विकास ओझेलमा परेको उपाध्यक्ष राईको अनुभव छ। गाउँपालिकाका प्रत्येक वडासम्म विद्युत् विस्तार र सञ्चारको पहुँच स्थापित गर्न गाउँपालिकाले केही बजेटको समेत व्यवस्था गरेको पाइएको छ। प्रत्येक वडामा टेलिफोन सञ्चालन गर्ने गरी रिपिटर टावर राख्न नेपाल टेलिकमसमक्ष माग गरिएको जनाइएको छ।

त्यसो त यस क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण टेलिफोन, मोबाइल सोलारको भरमा सञ्चालन हुने गरेको छ। विद्युत् नहुँदा टेलिफोन मात्र होइन दैनिक कामकाजमा समेत सास्ती हुने गरेको पाइएको छ।

स्थानीय तहले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने जरुरी रहेको स्थानीयवासीले बताएका छन्। स्थानीयले भने, 'विद्युत् पनि छैन, टेलिफोन पनि छैन कसरी काम हुन्छ ?' स्थानीय तह लागू भएको लामो समय बितिसक्दा पनि विद्युत् र टेलिफोन विस्तारमा जनप्रतिनिधिले चासो नदिएको उनीहरुको आरोप छ।



नयाँ