arrow

विर्तामोडका मेयर शिवाकोटीले सार्वजनिक माफि माग्नुपर्ने माग

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
tamu_(1).jpg

झापा । तमु ह्युल छों जधी गुरुङ परिषदले विर्तामोड नगर प्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटीले गत पुस १५ गते तमु ल्होसारका दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रुपमा माफि माग्नुपर्ने बताएका छन् ।
 
परिषदका केन्द्रीय सदस्य, सल्लाहकार तथा प्रदेश अध्यक्षसहितको उपस्थितिमा विर्तामोड नगर परिषदले बुधबार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख शिवाकोटीले सार्वजनिक रुपमा माफी नमागे आफूहरु सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

संविधानले सबै जात जाति, धर्म संस्कृति, भेषभूषा र भाषालाई समान रुपले हेरेको अवस्थामा स्थानीय सरकार प्रमुखका रुपमा रहेका शिवाकोटीले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएको भन्दै संविधान अनुसार उनलाई कानूनी कारवाहीको माग समेत गरेका छन् ।
झापाको विर्तामोड–१० स्थित सैनिक बजारमा रहेको धर्मचक्र गुम्बामा तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख शिवाकोटीले कार्यक्रममा स्वागतस्वरुप बौद्धधर्म अनुरुप पालीभाषाको मन्त्र अंकित खादा लगाइदिंदा खादालाई उपयोगहिन बस्तु भएको भन्दै यसको प्रयोग नै नगर्नु भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले तमू जातिको सांस्कृतिक परम्परा तथा बौद्ध धर्मको आस्थामाथि नै आक्रमण भएको तथा नेपालको संविधान २०७२ को मर्म र भावनामा गम्भीर आँच पुर्याएको गुरुङ समुदायद्वारा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोजित पत्रकार सम्मेलनमा मेयर शिवाकोटीले खादाका विषयमा दिएको अभिव्यक्ति जस्ताको जस्तै प्रोजेक्टरमार्फत भिडियो क्लिप सार्वजनिक गरिएको थियो ।

आयोजक समितिका अध्यक्ष धनबहादुर गुरुङ र सचिव उदय गुरुङद्वारा जारी विज्ञप्तिमा –गुरुङ्ग जाति लगायत समस्त बौद्ध धर्मावलम्बीहरुले स्वागत, पूजाआजा लगायतका पवित्र कार्यमा हजारौं वर्षदेखि प्रयोग गंर्दै आएको मन्त्रयुक्त खादाको अपमान गुरुङ समुदायलाई किञ्चित स्विकार्य नहुने अपमान जनक अभिव्यक्ति भएको उल्लेख छ ।’ मेयर शिवाकोटीले – ‘खादा एकचोटी लगाएपछि काम छैन घर पुछ्न र बच्चाको आची पुछ्न पनि काम छैन’–भनेका थिए।

धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा परिषदका केन्द्रीय सल्लाहकार श्याम गुरुङ्गले सदियौंदेखि प्रसादका रुपमा प्रयोग गरिंदै आएको खादाको अपमानले बौद्धधर्म, भाषा र संस्कृतिमाथिको प्रहार गरेको बताउँदै सरकारले खादा प्रयोगमा प्रतिबन्ध लगाएपनि त्यसलाई नमान्ने बताउँदै भने–‘कुनै सरकार र कानूनले प्रतिबन्द लगाएपनि हामी छोड्दैनौं।’ गुरुङ्ग समुदायका लागि खादा पवित्र बस्तुलाई बच्चाको आची पुच्नेसम्म पनि नहुने भन्नुले खादालाई गुन्युको थाङ्ना जत्तिको पनि नमानेका बताउदै कर्णबहादुर गुरुङ्गले भने– नानीहरुलाई आमाको गन्युको थाङ्नाको भोटो सिलाएर लगाइन्छ हाम्रो पूजाआजादेखि रिम्पोचेसम्मलाई चढाउने खादाको त्यो थाङ्ना जत्तिको पनि मानिएन्, स्थानीय सरकार प्रमुखले त्यसो गर्न मिल्छ ? नगरप्रमुख सबैको होइन ? कि एउटा जाति एउटा धर्मको मात्रै हो ?भन्दै प्रश्न गरे।

सुरेसमान गुरुङ्गले बहुभाषि, बहुजाति भनेर उल्लेख गरिएको संविधानमै भएको व्यवस्थालाई टेकेर निर्वाचित भएको नगरप्रमुखले एउटा जाति र धर्मको अपमान गर्नु संविधान विरोधी कार्य भएको बताउँदै राजीनामा माग गरे,– उहाँले भन्नुभयो संविधानमा भएको व्यवस्था टेकेर आएको मान्छेले संविधान विरोधी काम गर्छ भने उसले राजीनामा दिनुपर्छ ।’ प्रदेश प्रतिनिधि लक्ष्मीप्रसाद गुरुङ्गले जनजातिलाई दिइएको सार्वजनिक विदा कटाइएको प्रति आन्दोलित भइरहेका बेला मेयर शिवाकोटीबाट आएको अभिव्यक्ति निर्देशित हो या त गुरुङ्ग समुदायको धार्मिक आस्था माथिको प्रहार हो भन्ने ठहर गरेको बताए ।  मेयर शिवाकोटीले पुस १५ गतेपछि विर्तामोडमै आयोजित कार्यक्रममा स्वागतका रुपमा लगाइएको खादालाई स्वीकार गरेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ