- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुकुम । रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । जिल्लाका विभिन्न ठाउँमा नेकपाका कार्यकर्ताहरुले देशमा कम्युनिष्टले केहि गर्न नसक्ने भन्दै कांग्रेसमा प्रवेश गर्ने गरेका छन्। स्थानीय तह, प्रदेश र केन्द्रमा समेत कम्युनिष्टको दुई तिहाईको सरकार हुँदा समेत नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको भन्दै पूर्व माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
बिहिबार जिल्लाको बाँफिकोट गाउँपालिकामा नेकपा बाँफिकोट गाउँपालिका सदस्य ससे खत्रीसहित पाँच जनाले कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेस गाउँपालिकाको बैठकमा खत्री सहित पूर्व माओवादीका कार्यकर्ता कृष्ण गौतम, मनप्रसाद शर्मा लगायत पाँच जनाले आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेस बाँफिकोट गाउँपालिका प्रवक्ता धिरेन्द्रकुमार शाहीले जानकारी दिए ।
नवप्रवेशीहरुलाई पार्टीका गाउँपालिका संयोजक जनकुमार बाँठा, पूर्व जिल्ला सचिव हर्कसिंह खत्री लगायतका नेताहरुले अविर लगाइदिएर स्वागत गरेका थिए ।
गत माघ १ गते जिल्लाको चौरजहारीमा भएको कार्यक्रममा पनि एक दर्जन नेकपाका कार्यकर्ताहरुले कांग्रेसमा प्रवेश गरेका थिए। सहिद हरिभक्त ओलीको २० औं स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रममा चौरजहारी नगरपालिका– ८ की सुशीला रसाइली, पुष्पा जैसी र सुष्मा बुढाथोकी, वडा नं. ७ की निर्मला केसी, बहादुर जैसी, प्रेम बहादुर जैसी, वडा नं ४ का मानबहादुर भण्डारी, ध्रुव भण्डारी, सेती भण्डारी लगायतका नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।
प्रतिपक्षमा रहेको कांग्रेस पार्टी प्रवेश गर्ने नेकपाका कार्यकर्ताको योगदानबाट रुकुमका गाउँहरुमा आफ्नो पार्टी मजवुद हुँदै गएको संकेत गरेको उनको भनाई छ । हिउँदमा जतिसुकै सुख्खा भएपनि केहि पानी र हावापानीमा वदलाव हुने वित्तीकै दुबोले मौलाउने गरेको स्मरण गराउँदै सभापति ओलीले रुकुममा अब आफ्नो पार्टी पनि दुवौ झै पुनः मौलाउन सुरु गरेको दावि गरे । नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिएर संगठन निर्माणमा खटाउन समेत उनको भनाई छ ।
यसैबिच नेपाली कांग्रेस बाँफिकोट गाउँपालिकाको बैठक सम्पन्न भएको छ । गाउँपालिका संयोजक जनककुमार बाँठाको अध्यक्षता रहेको बैठकले पार्टी संगठनलाई सुदृढ गर्नको लागि प्रत्येक वडाका प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला र केन्द्रीयस्तरका नेताहरुलाई समेत वडास्तरीय कार्यक्रममा सहभागि गराएर संगठनलाई बलियो बनाउने निर्णय भएको प्रवक्ता शाहीले जानकारी दिए ।