arrow

२५ वर्षमा तीव्र विकासको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच, गन्तव्य र परिमाणात्मक लक्ष्य

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
bikash-kosh-oli.JPG

काठमाडौँ । राष्ट्रिय विकास परिषद्को बिहीबार सम्पन्न बैठकले दीर्घकालीन सोच सहितको पन्ध्रौं योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । मुलुकलाई उच्च आय भएको विकसित र समुन्नत राष्ट्रको रुपमा पुर्याउने मार्गचित्र कार्यान्वयन गर्न पन्ध्रौँ योजनालाई आधार योजनाको रुपमा तयार गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।     
     
आयोगले बिहीबार पत्रकार सम्मेलन गरी परिषद्को दुईदिने बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आगामी २५ वर्षमा तीव्र विकासको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच, गन्तव्य र परिमाणात्मक लक्ष्य सो आधारपत्रले लिएको जनाएको हो ।

आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले पन्ध्रौँ योजनाको अवधिमा औसत दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्दै उच्च आय भएको सम्मुनत मुलुकको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
     
उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने गरी सहकारी र सामुदायिक क्षेत्रको भूमिकालाई प्रभावकारी, पारदर्शी र सुदृढ बनाउनुपर्ने बताए । 

आयोगका सदस्यसचिव लक्ष्मण अर्यालले बैठकमा प्राप्त सुझावका आधारमा पन्ध्रौं योजनाको आधारपत्र थप परिमार्जनसहित पूर्णता दिइने उल्लेख गरे । दसवटा मुख्य लक्ष्यसहितको योजनाले प्रदेश सन्तुलनसहित रणनीति बनाएर अघि बढ्ने आयोगले जनाएको छ ।     
     
 बैठकको पहिलो दिन समष्टिगत आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, वन तथा प्राकृतिक स्रोत, लोकतन्त्र र सुशासन तथा अन्तरसम्बन्धितलगायत ६ वटा क्षेत्रमा केन्द्रित भई प्रस्तुतिकरण र छलफल गरिएको थियो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्री, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय समितिका सभापति, सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारका उच्च अधिकारी, योजना आयोगका पूर्व उपाध्यक्ष र पूर्व सदस्य, निजी, सहकारी, सामुदायिक, तथा गैह्रसरकारी क्षेत्रका प्रतिनिधि, उद्योगी र विज्ञले सुझाव दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ