arrow

किन चुनावी घोषणापत्रमा मात्र समेटिन्छ विमानस्थल ?

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
airport-chaur.jpg

दार्चुला । चुनावी घोषणापत्रको एउटा मुख्य मुद्दा गोकुलेश्वर विमानस्थल सञ्चालन गर्ने कुरामा दार्चुलाबाट निर्वाचित सासंदहरुको अधिकांश शक्ति खर्च भएको छ । बिगतदेखि नै गोकुलेश्वर विमानस्थल दलहरुको चुनावी मुद्धा समेत बन्ने गरेको छ । 

निर्वाचनका बेलामा जनता समक्ष गरेका प्रतिवद्धता ओझेलमा परेमा छन् । चुनावी घोषणापत्र भोट माग्ने एउटा साधनमात्र बनेको छ । अहिले स्थानिय सरकारले समेत उक्त विमानस्थल संचालन गर्ने बारे ठोस कदम चाल्न सकेको छैन । 

अधिकांश नागरिकको मागसँग जोडिएको विमानस्थल संचालन गर्नु नेताहरुका लागी हम्मेहम्मे परेको छ । आर्थिक वर्ष २०७३–०७४ मा सरकारले सुदुर पश्चिमका बन्द भएका सबै विमानस्थलहरु सुचारु गर्ने बजेट भाषण मार्फत घोषणा गरेको भए पनि कागजमै सिमित भएको छ । 

सुदूरपश्चिमका अन्य जिल्लामा रहेका विमानस्थल सुचारु गर्नका लागी धमाधम काम भइरहेको भए पनि गोकुलेश्वर विमान स्थल सूचारुका लागी भने कुनै पहल हुन सकेको छैन । 

सुदूरपश्चिमबाट केन्द्रमा पुगेका नेताहरुले पनि गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याउन पहल नगरेको र सरकारले पनि राजधानीलाई मात्र नेपाल ठान्ने शासकहरुको संकीर्ण सोचका कारण सुदूरपश्चिमले अझै पनि राज्यबाट पाइने सेवा सुविधाबाट वञ्चित हुनु परेको आम नागरिकको बुझाई छ । 

यो विमानस्थलको संचालनको टुगो नलाग्दा आफुहरु भएको गोकुलेश्वरका स्थानिय रमेश राज जोशीले बताए । उनले भने, विमानस्थल सुचारु हुने हल्ला चलेको भए पनि अढाइ दशक भइसकेको छ ।

अहिलेसम्म केही पहल छैन, बन्छ या बन्दैन यो यहाँका जनताका लागि आकाशको फल आँखा तरी मर भने जस्तै भयो । उनले थपे, नेताहरुका लागी गोकुलेश्र विमानस्थल भोट मागी खाने भाडो भयो । तर सिन्को भाँच्न सकेनन् ।

यस क्षेत्रबाट निर्वाचित सासंदहरुले विमानस्थल सञ्चालनको लागि प्राधिकरण र मन्त्रालयको ध्यानाकर्षण गराएका भए पनि त्यसले पूर्णता पाएको छैन । साथै सरकारी स्तर बाट समेत विमानस्थल संचालनमा चासो दिइएको छैन । 

गोकुलेश्वर विमानस्थलमा नेपाल वायु सेवा निगमले सेवा बन्द गरेको लामो समय वितिसक्दा समेत पुन सेवा संचालन गर्ने तर्फ कुरा चलेको भए पनि निर्माण कार्य हुन सकेको छैन । गत वर्ष विमानस्थल संचालनका लागी सम्भाव्यता अध्ययन गर्न आएको नागरीक उड्ययन प्राधिकरणको टोलीले प्राविधिक समस्या देखाएर फर्केको छ ।

विमानस्थल नजिक अव्यवस्थीत सहरीकरण , ठुला ठुला घर तथा होटलहरु निमार्ण हुनु र चौलानी नदिमाथिको पक्कीपुलका कारण उडान र अवतरणमा समस्या हुने भन्दै प्राधिकरणले गोकुलेश्वर विमानस्थललाई जोखीमयुक्त श्र्रेणीमा राखेर आफु पन्छिएको छ  ।

पर्यटकीय स्थल ओझेलमा 
हिमालको काखमा अवस्थित पवित्र भूमि दार्चुलामा रहेका धार्मिक पर्यटकीय ठाउँहरु मध्ये जिल्लाकै प्रमुख धार्मीक पर्यटकीय स्थल तथा १०० गन्तब्यको सुचीमा अटाउन सफल मालिकार्जुन शैल्यशिखर धाम र अपीनाम्पा संरक्षण क्षेत्र नराम्ररी प्रभावित बनेका छन् । 

यसैगरी कैलाश मानसरोवर पदमार्ग , अपी हिमाल, ब्याँस गुफा , सिद्धटोपी, ब्रह्मदह , लगायतका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् । जिल्लामा थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाउँहरु भए पनि ति ठाउँहरुको उचित प्रचारप्रसार हुन नसक्नु र विदेशी पर्यटकका लागि सहज तरिकाले दार्चुला गतव्य बनाउन विमानस्थल सुचारु नहुनु बिडम्बना बनेको छ । राजधानी देखी सुदुरमा रहेको तथा जिल्लामा भएको विमानस्थल समेत लामो समय देखी बन्द हुनुले समेत पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन । 

गौचरनमा परिणत
द्धन्द्धकाल देखी बन्द रहेको गोकुलेश्वर विमानस्थल संचालनमा नआउदा अहिले गौचरनमा परिणत भइरहेको छ । अहिले विमानस्थलको खुला चौरमा गाईवस्तु, भेडाबाख्रा, खच्चडहरुको लागी चरन क्षेत्र बनेको छ ।  यसको संचालन र संरक्षणमा राज्यले चासो नराख्दा विमानस्थल गौचरनमा परिणत भएको हो ।

उपचार नपाई ज्यान गुमाउन बाध्य
हवाइ यातायातको असुविधाका कारण आकस्मीक रुपमा रिफर गर्नुपर्ने बिरामीहरु समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य भइरहेका छन् । दुर्गम ग्रामिण बस्तीलाई सडक संजालले जोड्न नसक्दा ३, ४ दिन पैदल हिडेर पनि सुविधा सम्पन्न अस्पतालमा पुग्दासम्म कतिपय बिरामीहरुले बाटोमै ज्यान गुमाइरहेका हुन्छन् । 

अझ यसमा त सुत्केरी तथा गर्भवती आमाहरुलाई यो बाध्यताले मृत्यु नै रोज्न बाध्य पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ