arrow

बादीका घरमा साहूले लगाएको ताला खोलियो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख १८ बुधबार
photo_badi_(1).jpg

बझाङ। ऋण तिर्न नसकेको भन्दै बझाङको  जयपृथ्वी नगरपालिका १० चैनपुर बस्ने विपन्न तथा गरिब  सुरेन्द्र बादीको घरमा साहूले लगाएको ताला खोलिएको छ ।  बादीले तिन बर्ष अगाडी ऋण तिर्न नसके पछि साहूले लगाएको ताला वडा अध्यक्ष दल बहादुर बिष्टसंग  ऋण तिर्ने सहमती भए पछि बादीको घरमा लगाएको ताला खोलिएको हो ।

पढाई ,घरखर्च र विवाह गर्दा आफुसंग पैसा नभएपछि चैनपुरकै लक्ष्मी सुनार वाट दश  वर्ष अगाडी सुरेन्द्र बादीले तीस हजार ऋण लिएका थिए भने अहिले साँवा व्याज जोडेर साहुको ७३ हजार तिर्नु बाँकी छ । सुरेन्द्र बादी अहिले घरमा छैनन् ।  उनि बस्ने घर साहू लक्ष्मी सुनारले सुरेन्द्रले पैसा तिर्नु छ भनेर ताला लगाएका थिए ।

 सुरेन्द्रका भाई कमल बादी  घरमा साहूले ताला लगाएपछि अर्कोको घरमा बस्दै आएका थिए ।  ऋण तिर्न नसकेर साहुले सुरेन्द्रको घरमा जस्तै अरुको घरमा ताला लगाएको त थिएन तर ऋण नतिरे घरमा ताला लगाई दिन्छु भनेर साहुहरुले धम्काउदै आएको बादीहरु वताउन्छन्  ।

 मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सूर्य बहादुर केसी, जयपृथ्बी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्ट र पत्रकारहरुको रोहबरमा साहू लक्ष्मी सुनारले ६ महिना अगाडी लगाएको ताला खोलेका हुन् ।

बादीहरुले लिएको सबै ऋण बादी उत्थानका लागी सरकारले दिएको अनुदानबाट तिर्ने सहमती  समेत भएको छ । जयपृथ्वी नगरपालीका १० का वडा अध्यक्ष दल बहादुर विष्ट भने‘बादी समुदायको सबै ऋण तिर्नका लागी पहल भई रहेको छ , हामी सबै सरोकारबाला निकायको रोहबरमा ऋण चुक्ता गरिदिन्छौ ।'

१३ परिवारको बसोवास रहेको चैनपुरका बादीहरुको स्थानीय ६ जना सुनार साहुको ७ लाख ७० हजार जती ऋण रहेको छ ।  सानो तिनो मजदुरी गर्ने र गाउँ घरमा मागेर विहान बेलुकाको  छाक टार्ने बादीहरुले साहुहरुको सानो तिनो ऋण समयमै तिर्न नसक्दा व्याज स्याज बढ्दै  गएपछि  विस तिस हजार ऋण  नभएको  कोहि अछुतो छैन । 

 नेपाल सरकारको जनता आवास कार्यक्रमवाट अहिले बादीहरुका घर र्निमाण गरिदिए पछि साहुहरुले आफ्नो ऋण असुल गर्नु पर्ने र नत्र नयाँ घरमा आफुहरु ताला लगाई दिने  धम्की दिएपछि बादी समुदायको ऋणको कुरा सार्बजनिक भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने ‘बादी समुदायका केही ब्यक्ति मदिरा सेवन गर्ने परिश्रम नगर्नाले बादी समुदायको बालबालिकाको भबिस्य  समेत अन्यौलमा रहेको छ, र हामीले साहू संग ऋण तिर्ने सहमती पछि घरमा लगाएको ताला खोलेका छौ’  ।

बादीहरुका लालपुर्जा धरौटीमा राखेर साहू हरुले  व्याजमा पैसा दिएका थिए  । चैनपुरका धर्म  बादीले भने, ‘१० - १५ हजार सम्म ऋण लिएका हौ तर साहूहरुले व्याज स्याज थपेर बढी बनाएको दुखेसो छ । सुनार जाती हरुको अगाडी डरले भन्न बोल्न नसक्ने वादीहरु साहूहरुको जवरजस्तीले तमसुकमा समेत ल्याप्चे गरेको बादीहरु वताउन्छन् ।

 बादीहरुको तमसुल कागज बमोजिम लक्ष्मी सुनारको ४ लाख ४५ हजार बादीहरुले तिर्नु तमसुलमा उल्लेख छ  । यसका साथै भुजीदेवी सुनारको ९३ हजार ८ सय,  सानु चित्रकारको ४६ हजार,  नरेश चित्रकारको ९ हजार ५ सय  छ । साथै  रामगिरी सुनारको ४ हजार ६ सय छ । यता  राधीका सुनारको १ लाख ७१ ह्जार ५ सय गरि ७ लाख ७० हजार बादीहरुले  तिर्नु पर्ने रहेको साहू लक्ष्मी सुनारको भनाई छ । उनले भने ‘बादीहरुले विरामी हुदाँ विवाह गर्दा अन्य चाड पर्वमा खर्च भनेर मागेको हो समयमै नदिएपछि व्याज थपीएर केहि पैसा  बढ्दै गएको छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ