arrow

सुत्केरी बमको हेलिकप्टरबाट आपतकालीन उद्धार

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
Helicopter-Nepal-Army.jpg

कालीकोट । कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–५ मेहलमुडी गाउँका २२ वर्षीय सुत्केरी स्वस्तिका बमलाई आपतकालीन उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमा आज उहाँलाई उद्धार गरिएको हो । बमलाई मेहलमुडी स्वास्थ्य चौकीमा सुत्केरी गराउन लगिएको थियो । शनिबार रातिबाट ब्यथा लागेको तर सुत्केरी हुन नसकेर ज्यान जोखिमपूर्ण अवस्थामा पुगेपछि तत्काल स्थानीय सरकारले प्रदेश सरकारसँग ज्यान बचाउन सहयोग मागेको थियो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरबाट बमलाई सुर्खेत विमानस्थलमा ४:३५ बजे पुर्‍याइएको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।

बमलाई तुरुन्तै प्रदेश अस्पतालमा पुर्‍याएपछि अहिले छोरी जन्मेको उपचाररत अनमी निर्मला सञ्ज्यालले राससलाई जानकारी दिए । उनको अनुसार अहिले बच्चा र आमा दुवैको अवस्था सामान्य छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आपतकालीन सेवा दिन विनियोजन गरेको रु दुई करोड बजेटले यहाँका एक दर्जन महिलाको जोखिमपूर्ण अवस्था सुरक्षित भएको छ ।

प्रदेश सरकारको आकस्मिक उद्धार तथा राहतले विशेषगरी यहाँका महिला लाभान्वित भएका छन् भने यहाँका नागरिकले नजिकको सरकार हुँदाको अभिभावकत्व महसुस गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ