चोरले छानीछानी महंगा मोबाइलहरु चोरेर लग्यो 

प्रकाश चन्द्र भट्ट, प्रकाशित मिति : २०७६ बैशाख २९ आइतबार

दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजारको एक मोबाइल पसलमा चोरी भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ स्थिति एनआइआइटी कम्प्युटर सेन्टर तथा मोबाइल ग्यालरीमा चोरी भएको हो ।

मोबाइल ग्यालरीबाट ३६ हजार ५ सय नगद र १ लाख ६५ हजार बराबरका मोबाइल चोरी भएको प्रहरीले जनाएको छ । शुक्रबार राति ८ बजे पसल बन्द गरेर गएका पसल सञ्चालकले शनिबार बिहान आउँदा हाइडोलिक ज्याकले सटर खोलेर चोरी गरेको प्रहरीलाई निवेदन गरेका छन् ।
 
करीब १ लाख ६५ हजार बराबरको स्यामसुङ कम्पनीका ब्राण्डेड सेट चोरी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मतबहादुर बोहराले बताए । 

पसलका संचालक प्रविन सिह ठगुन्नाले चोरले बढी मूल्य पर्ने ब्राण्डेड मोबाइल मात्र चोरेको बताए । बिहान आउँदा बाहिरबाट पसल बन्द अवस्थामा थियो तर भित्र खोलेर हेर्दा सिसी क्यामेरा जडित तारहरु काटेर पसलमा चोरी गरेको उनले जनाए । सो चोरीको घटनामा चोरी गर्ने व्यक्तिको तस्वीर सिसी क्यामेरामा कैद भएको छ ।

चोरले ज्याकको सहायताले पसलको सटर खोली भित्र प्रवेश गर्ने वित्तिकै सिसी क्यामेरामा कैद भएको बताइएको छ । सिसी क्यामेरा फुटेजको रेकर्डमा कैद भएको चोरको तस्वीर परीचित व्यक्तिको रहेको समेत पसल संचालक ठगुन्नाले बताए । 

संचालकले दिएको निवेदनको आधारमा सो व्यक्तिलाई नियन्त्रणमा ल्याइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ