arrow

दार्चुलामा पहिलो पटक नगर बस

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ वैशाख ३० सोमबार
nagarbus.jpg

दार्चुला ।  दार्चुलाको महाकाली नगरपालिकाले पहिलो पटक नगर बस संचालनमा ल्याएको छ । महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले सोमबार नगर बसको विधिवत रुपमा उद्घाटन गरी बसमा चढेर ७ किलोमिटर यात्रा समेत गरेका हुन् ।

जिल्लामा २ वटा नगरपालिका घोषणा भएका छन् तर महाकाली नगरपालिकाले जिल्लामै पहिलोपटक नगर बस संचालन गरेको हो । नगरबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले बताए ।

 नगरसभा र नगरकार्यपालिकाको बैठकबाट नगरबासीहरुको यातायातमा सहजताका लागी नगर बस संचालनमा ल्याउने निर्णय अनुरुप सोमबार देखि बस संचालनमा ल्याईएको हो । उँहाले नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगर बस सन्चालनमा ल्याएको जानकारी दिए ।

तत्काललाई नगरपालिकाको वडा नम्बर ४ देखि ९ नम्बर वडासम्म मात्रै सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । वडा नम्बर १, २ र ३ क्षेत्रमा भने पक्की सडक नभएकाले बस सञ्चालन गरिने छैन । सहुलियत भाडा दर कायम गरी नगरपालिकाले ४० सिट क्षमता भएको बस संचालनमा ल्याएको हो । नगर बसको विभिन्न रुटको भाडादर निर्धारण गरिने र टिकट अनिवार्य गरिने बताइएको छ ।

नगरकार्यपालिकाले नगर बस संचालन तथा व्यवस्थापन कार्य्विधि २०७५ पारित गरी बस संचालनको तयारी थालेको हो । नगर बस संचालनका लागी वडा नम्बर ३ का वडा अध्यक्ष पदम महर संयोजक रहने गरी ७ सदस्यीय नगर बस संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।  यस्तै नगरपालिकाको  नगर बस संचालन तथा व्यवस्थापन समितिको बैशाख १९ गते सरोकारवालाहरु संग बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बस छुट्ने समय तालिका निर्धारण तथा भादादर र व्यापारिक प्रयोजनका सामग्री ओसारपसार सम्बन्धमा निर्णय गरिएको समितिका संयोजक पदम महरले जानकारी दिए ।

बस बेतबाट विहान ५:३० बजे खलंगा, बिहान ७:१५ बजे खलंगाबाट बेत, विहान ८:३० बजे बेतबाट खलंगा, दिउसो १ बजे खलंगाबाट बेत, दिउसो २:३० बजे बेतबाट खलंगा र वेलुकी ५:३० बजे खलंगाबाट बेतका लागी बस छुट्ने उनले बताए । बसमा व्यापारिक प्रयोजनका सामग्री वसारपसार गर्न नपाईने निर्णय भएको उनले बताए ।  

नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको छ । नगर बसमा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई नि:शुल्क बस सेवा प्रदान गरिने नगर प्रमुख हंसराज भट्टले बताए ।

 यस्तै ५ वर्षमुनिका बालबालिकाहरुलाई पनि नि:शुल्क बस सेवा प्रदान गरिनेछ । विद्यार्थीहरु तथा एकल महिलाहरुलाई समान ५० प्रतिशत भाडा छुट गरिने नगर प्रमुख भट्टको भनाई छ । यस्तै ७० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ