arrow

नेप्सेमा सामान्य सुधार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1004003664.jpeg
काठमाडौँ  । निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा यो साता केही सुधार भएको छ । नेपाल–भारतको सीमा क्षेत्रमा भएकोे पारवहन असहजताका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण पुँजी बजारमा पनि त्यसको नकारात्मक असर परेको हो ।  गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २९।०१ अङ्कले ओरालो लागेको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २।३८ अङ्कले उकालो लागेर अन्तिम दिन १०९०।६८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनी छ हजार २८४ कारोबारबाट रु ९२ करोड ५९ लाख १५ हजार बराबरका १८ लाख ३८ हजार चार सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५।१२ प्रतिशत बढि हो । गत साता ११६ कम्पनीको कारोबार भएको थियो । जस अनुसार पाँच ६४७ कारोबारबाट रु ८० करोड ४४ लाख ३५ हजार बराबरका १३ लाख २७ हजार दुई सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । 

यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक समुहको परिसूचकमा २।६७, वित्तको १।९४ र होटल समुहको पाँच अङ्कले ओरालो लागेको स्टक एक्सचेन्ज लिमिटेडले उल्लेख गरेको छ ।  त्यस्तै विकास बैंक समुहको १।७२, जलविद्युत कम्पनीको ४०।०७, बिमा ६।३५, उत्पादनमुलक समुहको परिसूचकमा २६।९८ र अन्य समुहको परिसूचकमा १७।६२ अङ्कले उकालो लागेको छ । तर व्यापार समुहमा कुनै परिवर्तन आएको छैन । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०।५६ अङ्कले बढेर २३५।७८ अङ्कमा आईपुगेको छ ।  यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा पनि नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा वरुण हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।



लोकप्रिय समाचार
नयाँ