भाषाकै कारण योगेश भट्टराई अप्ठेरोमा, कतै ओलीलाई हटाउने बहाना त मिलेन ?
प्रकाशित २०७६ भदौ ३० सोमबार
945
Shares
काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भाषाको विवाद दिनानुदिन चर्किदो छ । बोलीमा लगाम लगाउन नसक्दा स्वयं ओली नै अप्ठेरोमा पर्दै आएका छन्। मन्त्रीहरुमा पनि त्यो समस्या छ । यही भाषाले मन्त्रीका जागिर नै गएका छन् ।
अहिले पालो आएको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको। उनी आशा गरिएका मन्त्री। युवा उत्साह थप्न अग्रसर मन्त्री।प्रतिपक्षले पनि आशा गरेका मन्त्री। पहिलो पटक मन्त्री भएका उनले संयमित भएरै अगाडि बढ्दै थिए। तर कुर्सीमा बसेको डेढ महिनामै उनले भाषा बिगारे। शनिबार उनी धनगढीबाट काठमाडौं आउने क्रममा भएको घटना, त्यसपछि उनले लेखेका भाषा र उनकापीएले लेखेको भाषाले तरंग ल्याएको छ।
नेकपाका नेता तथा कार्यकर्ताहरु उनको बचाउमा लाग्दै गर्दा यस्तो घटनाप्रति सचेत हुन आग्रह गर्नेलाईधम्कीदिन थालेका छन्। उनका पिए प्रेम गुरागाईँले त जनतालाई कुकुरसम्म भनेका छन्। यही भाषाका कारण मन्त्री भट्टराईको जागिर जाने त हैन भन्ने नेकपाका कार्यकर्ताहरु भन्न थालेका छन्।
योगेश ओलीका विरोधी मानिन्छन्
योगेश भट्टराई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका विरोधी मानिन्छन्। अहिले विकल्प नदेखेपछि माधवकुमार नेपाल पक्षका भट्टराईलाई ओलीले मन्त्री बनाएका हुन्। उनलाई चुनावी प्रचारका बेलामा ओलीले मतदातालाई भनेका थिए – जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो।
डेढ वर्ष झुलाएर उनले भट्टराईलाई मन्त्री बनाउनुको पछाडि माधव नेपाललाई एकताका लागि फकाउन तथा भट्टराईप्रति दया देखाइएको रुपमा पनि हेरिएको नेकपाकै नेताहरु बताउँछन्। भट्टराई मीठो तर्क गर्छन्। अनि ओलीका विकृतिविरुद्ध उभिदै आएका पनि छन्। संस्कृति मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उनको ठाउँमा भट्टराई ल्याइयो।
यदि भट्टराई समाजबाट आलोचनाको पात्र बने भने त्यही बहानामा ओलीले उनलाई हटाउन सक्ने सम्भावना पनि रहेको नेकपाका नेताहरु कानेखुसी गर्न थालेका छन्।