- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपालगञ्जमा विमान प्रकरणबाट शुरु भएको राजनीति काठमाडौंसम्म आइपुग्दा आक्रमण, पक्राउ अनि प्रश्न सोध्नेहरुलाई मण्डलेकरण गर्ने अवस्थासम्म पुगेको छ। यो प्रकरणमा प्रश्नको घेरामा परेका नेकपाका नेता तथा मन्त्री योगेश भट्टराईको प्रतिक्रिया पानीमाथिको ओभानो बन्ने गरि मात्र आएको छ। तर मन्त्री भट्टराईको नाममा भएको गुण्डागर्दी र प्रदर्शन भएको मण्डले चरित्र हाम्रो राजनीतिको लागि दुखद संकेत हो।
कुनै बेला पश्चिम वंगालमा ज्योती बसुको कम्युनिष्ट सरकारमा सत्ताको विरोध गर्ने अथवा सत्ताको बारेमा प्रश्न गर्नेहरुलाई कि सरकारी शक्ति प्रयोग गरि तह लगाइन्थ्यो की सरकारी व्याकअपमा कार्यकर्ता लगाएर ठीक गरिन्थ्यो। आफ्नै कार्यकर्ता लगाएर विपक्षीमाथि गरिएको दमनलाई जनताले प्रतिकार गरेको प्रचार गरिन्थ्यो। आइतवार ललितपुरमा ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा नेकपा निकट अखिलका कार्यकर्ताबाट गरिएको आक्रमणलाई यसैगरि जनताको प्रतिकारको रुपमा अर्थ्याउन खोजिएको छ। पत्रकार सम्मेलनमै आक्रमण त्यसपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिने बेलासम्म उनलाई लखेटी लखेटी आक्रमण गरिएको घटना पश्चिम बंगालको नयाँ संस्करणको रुपमा आएको छ।
हामी लोकतान्त्रिक व्यवस्थामा छौ। लोकतन्त्रमा लोकतन्त्रमाथि नै प्रश्न उठाउनेहरुले पनि आफ्नो कुरा राख्न पाउने अधिकार हुन्छ। तर लोकतन्त्रको आधारभुत मुल्य मान्यता विरुद्ध गएर अहिले मन्त्री भट्टराई र उनका समर्थक उनीमाथि प्रश्न गर्नेहरुलाई व्यवस्था विरोधीको आरोप लगाएर विषयलाई विषयान्तर गर्न खोज्दैछन्। आफूमाथि प्रश्न गर्नेहरुलाई प्रतिगामी र मण्डलेको विल्ला भिराएर उनको टोली उनी पानी माथिको ओभानो बन्न खोजेका छन्। तर आफ्नो पङतिलाई भने राजनीतिक संस्कार सिकाउन भुलेका छन्। राजावादी नै होलान वा अरु कुनै तर फरक विचार बोक्नेहरुलाई आक्रमण गरेरै तह लगाउँछु भन्ने सोच यो लोकतन्त्रका लागि खतरा हो। यो फासिवादी चरित्रले हाम्रो लोकतन्त्र समृद्ध बन्न सक्दैन। सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आएको उनको प्रतिक्रियाले लोकतन्त्रप्रतिको उनको निष्ठालाई नै कठघरामा खडा गरेको छ।
यो समग्र घटनामा भट्टराईले आफ्ना कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति क्षमाप्राथी छु भनेको मात्र भए उनको कद बढ्ने नै थियो तर उनी विवादको घेराबाट बाहिर निस्कन चाहेनन। मन्त्री भट्टराईसँग जोडिएको प्रकरणमा आफ्नो कुरा राख्न पत्रकार सम्मेलन गर्न लागेका शाही बिरुद्ध पत्रकारको खोल ओढेर गएका सरकारी भिजिलान्ते मण्डलेहरुले जसरी आक्रमण गरे त्यो लोकतन्त्रलाई लज्जित तुल्याउने घटना थियो।
लोकतन्त्र भनेको लोकतन्त्रकै विकल्प खोज्नेहरुका लागि समान अवसर प्रदान गर्ने व्यवस्था हो। लोकतन्त्रको आन्दोलनमा सडकमा लडिरहेका बेला विगतमा जसरी भिजिलान्ते मण्डलेहरु आन्दोलनकारीमाथि वर्सिने गर्थे सोहि शैलीमा ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा पत्रकारको मुखौटा ओढेर आएका सरकारी भिजिलान्ते मण्डलेहरुले गरेका छन्। लोकतन्त्रीक चरित्र भएकाहरुले आफ्ना विरुद्ध भएका कुराहरु पनि सुन्ने धैयता राख्नुपर्छ। मन्त्री भइसकेकाहरुले झन पदीय मर्यादा र दायित्यलाई ध्यानमा राखेर अझ बढी विनयभाव राख्न सक्नुपर्छ। असहमत हुने पक्षको अधिकारको लागि समेत लड्ने दृढता सच्चा लोकतन्त्रवादीहरुले देखाउन सक्नुपर्छ। तर दुई दिन अघी ७० बर्ष पुग्न लागेकी आमा किरण कोइरालालाई हात भाच्ने गरि कुट्ने आँट गर्ने पार्टीका नेता कार्यकर्ताबाट यो आस गर्नु नै बेकार थियो। विगतमा सरकारी आडमा गुण्डागर्दी गर्ने मण्डलेहरुले झै योगेशका केटाहरु भिजिलान्ते मण्डले बनेर आफ्ना विरोधीको कार्यक्रम भाड्न तथा तिनको करङ गन्न गए।
नेपालगञ्जमा शनिवार ज्ञानेन्द्र शाही र मन्त्री भट्टराईसँग जोडिएको घटना हुनु अनि आइतवार पत्रकारको मुखौटा ओढेर गएकाहरुले शाही माथि आक्रमण हुनुले नेकपाका नेता समेत रहेका मन्त्री भट्टराईको सार्वजनिक छवी र भित्री रुपको विरोधाभाषपूर्ण व्यवहारलाई उदाङगो पारेको छ। मन्त्री भट्टराईले यति चाडो यो स्वरुपमा रीस प्रकट गर्लान र विरोधी आवाजलाई वन्द गराउन खोज्लान भन्ने आम अपेक्षा गरिएको थिएन तर यहाँ उनले विद्यार्थी राजनितिबाट आएको धङधङी देखाएरै छाडे । आफूलाई मन पराउनेहरुले पनि यस किसिमको हर्कत गर्लान भनेर सावधानी अपनाउनु पर्ने थियो उनले। तर त्यस्तो भएन। सरकारी सुरक्षाकर्मीको व्याकअपमा अखिलका केटाहरु लगाएर भट्टराईलाई रामधुलाई गरेका ज्ञानेन्द्रलाई रामधुलाई गरियो। प्लेन ढीला गरेको निहुँमा योगेशलाई झपारेका ज्ञानेन्द्रहरुले सामाजिक सञ्जालमा भिडियो राख्दा रामधुलाई शब्द प्रयोग गरेका थिए। तर साच्चिकै रामधुलाई भनेको यस्तो हुन्छ भने झै गरेर भट्टराईका कार्यकर्ताले नाङगो नाच नाचे।
पत्रकारको आवरणमा आएका नेकपा तथा मन्त्रीका कार्यकर्ताहरुले आक्रमक शैलीमा खेद्न थालेर शाहीलाई रक्षात्मक बनाएका थिए। पत्रकार सम्मेलनमा पत्रकार भन्दा अघी आएर उनीहरुलाई काम गर्न वाधा पुर्याउने मात्र होइन पत्रकारकै खोल ओढेका ती सरकारी भिजिलान्ते मण्डलेहरुले पत्रकारीता पेशालाई पनि वद्नाम गरे। नागरिकले प्रश्न गरेको विषयमा भड्किएर राज्यशक्तीको आडमा कार्यकर्ता परिचालन गरी आक्रमण गर्ने कार्यले मन्त्री भट्टराईको फाँसीवादी चरित्रको उदाङ्गिएको आरोप पनि लागेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार, विधीको शासन लगायत लोकतन्त्रका आधारभुत मूल्य र मान्यताका लागि लडेका मन्त्री भट्टराई र उनको कार्यकर्ता पङती यसरी विरोधी बिरुद्ध नाङगो नाच गर्न उद्यत होला भन्ने आम भावना विपरित उनको टोलीको यो हर्कत कत्ति पनि प्रिय छैन। अझ पत्रकार सम्मेलनमा पत्रकारको आवरणमा भिजिलान्ते मण्डले पठाउने कार्यको कहि पनि समर्थन गर्न सकिदैन। साच्चिकै लोकतन्त्रप्रति थोरै भएपनि निष्ठा बाकी छ भने योगेश भट्टराईले यो घटनामा विनाशर्त माफि माग्रनुपर्छ। अरुलाई मण्डलेको आरोप लगाउनु अघी आफ्नैं मण्डले चरित्र सुधार्नु योगेश टोलीको लागि हितकर छ।