arrow

खजुराका सयौँ घर डुबानमा, विद्यालय बन्यो आश्रयस्थल   

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
Khajura_Gaunpalika.png

राँझा । बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।     
     
उनका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । खजुरा गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने उढरापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् ।

उक्त क्षेत्रका डुबानपीडित स्थानीयवासी सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् । आधारभूत विद्यालय सिन्दुरीमा १०० जति र जनसेवा माध्यमिक विद्यालयमा ८–१० विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झबी शर्माले जानकारी दिए ।     
     
शर्माका अनुसार, वर्षा नरोकिएको हुँदा विस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन् । विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्छ । वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायातसमेत प्रभावित भयो । डुबानपीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए ।     
     
बाँकेका प्रहरी उपरीक्षक वलीले अविरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुबान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले डुबानपीडितको उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारी खटिएको बताए । आजसम्ममा पीडितहरुको यकिन विवरण सङ्कलन हुने उनले जानकारी दिए ।     
     
खजुरा गाउँपालिका वडा नं ३ मा पर्ने पेडारी नालामा बाढी आउँदा सवारी आवागमनमा समस्या भएको छ । पेडारी नालामा रहेको पुलभन्दा माथिबाट पानी बगेका कारण नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमनमा कठिनाइ भएको छ ।     
     
 बुधबारको वर्षाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोड, घरबारीटोल, गणेशपुर क्षेत्र डुबानमा छ । यसैगरी जानकी गाउँपालिकाको साइगाउँ, बेलभारलगायतका क्षेत्रसमेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ