arrow

सडक जामका कारण बिरामीको बाटोमै मृत्यु  

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
Thakre_Gaunpalika.png

धादिङ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण शुक्रबार एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।     
     
रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए । 

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेंसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए । एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए ।     
     
आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहको उनको काखमै मृत्यु भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ