arrow

शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग प्रेस युनियनको माग

logo
प्रकाशित २०७६ असोज १६ बिहिबार
ajaya-babu-shiwakoti-editor-hamrakura.jpg

काठमाडौं । नेपाल प्रेस युनियनले समाचार लेखेकै आधारमा हाम्राकुरा डटकम अनलाइनका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न प्रहरी प्रशासन तथा सरकारसँग माग गरेको छ ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बिहिबार विज्ञप्ति जारी गर्दै  महासचिव समेत रहेका शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,' हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।'

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको बिहिबार बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ ।

'नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ । कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ' विज्ञप्तिमा उल्लेख छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ