arrow

एकल र विपन्न महिलालाई स्वरोजगार बनाउन बोका–बाख्रा

logo
सुरेश श्रेष्ठ, 
प्रकाशित २०७६ असोज २९ बुधबार

तुलसीपुर । एकल तथा विपन्न महिलालाई नेवार समाजले स्वरोजगार बनाउने उद्देश्यले बोका र बाख्रा सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ खैरेनीकी शान्ता श्रेष्ठलाई समाजले बाख्रा र बोका सहयोग गरेको हो ।

श्रीमान् भारतमा श्रम गर्ने क्रममा मृत्यु भएको र तीन छोराछोरीलाई पालनपोषण र घर व्यवहार सञ्चालनमा समस्या भएको देखेर शान्तालाई बाख्रा र बोका सहयोग गरिएको तुलसीपुर नेवार समाजका अध्यक्ष नरेश राजभण्डारीले बताए ।

विपन्न र एकल महिला त्यो पनि नेवार समुदायको भएका कारण शान्तालाई स्वरोजगार बनाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ मंगलबार उनको घरमै पुगेर बाख्रा, बोका, कपडा र बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको राजभण्डारीले बताए ।

तुलसीपुर नेवार समाजको सक्रियतामा विभिन्न नेवार समुदायका अगुवाहरूको सहयोगमा पाँचवटा बाख्रा र एक बोका सहयोग गरिएको छ । शान्ताका श्रीमान् गोपाल श्रेष्ठको ३३ वर्षको उमेरमा गत साउन ३२ गते भारतको नयाँ दिल्लीको एक होटेलमा काम गर्देगर्दा मृत्यु भएपछि परिवार टुहुरो बनेको थियो ।

घरको मुली मान्छेको मृत्यु भएपछि शान्ताको परिवारमा आर्थिक समस्या बढ्दै गएको खबर पाएपछि नेवार समाजले सहयोगको लागि अभियान चलाएर सहयोगी कार्यमा जुटेको अध्यक्ष राजभण्डारीले बताए ।

समाजको तर्फबाट तुलसीपुर नेवार समाजले १ बोका र ३ बाख्रा, समाजका निर्वतमान अध्यक्ष विनोद कुमार श्रेष्ठले एक बाख्रा, दाङ–काठमाडौ नेवार समाजका अध्यक्ष भेषराज श्रेष्ठले एक बाख्रा शान्तालाई सहयोग गरेका छन् । 

नेवार समाजले बाख्राका लागि गोठसमेत निर्माण गर्न लागेको अध्यक्ष राजभण्डारीले बताए । उनले अन्य व्यक्तिहरूबाट भएको आर्थिक सहयोगले बाख्राका लागि गोठ निर्माण गर्न लागिएको बताए ।

उक्त अवसरमा पाल्पाली मेडिकल तुलसीपुरका सञ्चालक शिवप्रसाद श्रेष्ठले शान्ताका तीन छोराछोरीलाई २ वर्षसम्म निशुल्क औषधी उपचार गरिदिने प्रतिबद्धतासमेत जनाएका थिए । समाजका कोषाध्यक्ष पुस्कार श्रेष्ठले पढाइको सहजताका लागि स्टेशनरी सामग्री सहयोग गरेका छन् ।

नेवार समाजको भगिनी संस्था नेवा मिसदवु समाजका पदाधिकारी तथा सदस्यहरूले कपडा सहयोग गरेका थिए । नेवार समाज तुलसीपुरका अध्यक्ष नरेशराज राजभण्डारीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १५का अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यताका भएको कार्यक्रममा सहयोग वितरण गरिएको हो ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष विनोदकुमार श्रेष्ठ, दाङ–काठमाडौ नेवा समाजका अध्यक्ष भेषराज श्रेष्ठ, नेवाल समाजका प्रदेश कोषाध्यक्ष राजेन्द्र खड्गी, नेवार मिस दवुका अध्यक्ष अनिता राजभण्डारीलगायतले धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव हरि श्रेष्ठले गरेका थिए । यसैबीच स्थानीयहरूले पनि श्रेष्ठ परिवारलाई यस अघि ५२ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । यमनारायण श्रेष्ठको अगुवाई राहत संकलन गरी सहयोग गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ