arrow

टुँडिखेलमा सटर बनाउन दिने कार्कीलाई बचाउँदै विद्यासुन्दर, मन्त्रालयको पत्र रद्दीको टोकरीमा

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
gyanendra-karki1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गराउन पत्र पठाइएको छ । मन्त्रालयले उनलाई दोस्रो पटक २०७६ असोज २७ मा मन्त्रालयमा तान्ने पत्र पठाएको हो । यसअघि २०७६ असार ३१ मा उनलाई मन्त्रालयमा हाजिर गराउन पत्र पठाएको थियो । लामो समयदेखि महानगरमा कार्यरत कार्की विवादै विवादमा पर्दै आएका छन् । 

पछिल्लो पटक खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि बसपार्कको टावर ठेक्कामा समेत कार्की जोडिएका थिए । उनी महानगरपालिकासँग अनुमति नै नलिई पटक पटक विदेश गएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । अनियमितताका दर्जनौं उजुरी अख्तियारमा छन् । तर उनले सबैतिर मिलाएर महानगरमा ढलीमली गर्दै आएको आरोप छ । 

कार्कीकै कारण मेयर विद्यासुन्दर शाक्यसमेत विवादमा पर्ने गरेको भन्दै नेकपाकै नेताहरुले कार्वाहीको दबाव दिएका थिए । तर साउनमा मन्त्रालयको पत्र कार्यान्वयन हुन नदिएका मेयर शाक्यले अहिले पनि कार्कीलाई मन्त्रालयमा हाजिर हुनका लागि रमाना दिएका छैनन् ।

कार्कीकै कारण महानगरमा भ्रष्टाचार अति मौलाएको स्वयं कर्मचारीहरु बताउँछन्। उनले महानगरका हरेक ठेक्कापट्टामा कमिशन उठाएर जनप्रतिनिधि नहुँदा कार्यकारी अधिकृतलाई खुशी बनाई हालीमुहाली गर्दैआएका थिए । शाक्य मेयर भएपछि उनको हालीमुहाली झन् बढेको छ ।

टुँडिखेल नै भाडामा दिएपछि उनलाई प्रशासन प्रमुखको जिम्मेवारीबाट अलग गराउन मेयर शाक्य बाध्य भए पनि उनले कार्यकक्षमा नयाँ प्रशासन प्रमुख बखतबहादुर साउदलाई छोडेनन्। साउदलाई सानो कोठा दिइएको छ । 

कार्की पहिलेदेखि बस्दै आएको कोठामा बसिरहेका छन् । कार्कीको मेयर शाक्यको जस्तै भब्य कार्यकक्ष छ । महानगरपालिकाका मेयर शाक्यले कार्की जस्ता विवादित पात्रलाई मन्त्रालयमा हाजिर गराउन पठाएको पत्र अनुसार रमाना नदिनुमा आर्थिक लेनदेनमा उनी चुकेकाले हो भन्ने बुझाई नेकपाका कार्यकर्ताहरुको छ । 

जनप्रतिनिधि नभएको समयमा शाक्य एमालेको तर्फबाट महानगरपालिकाको दलीय संयन्त्रमा थिए । त्यतिबेला कार्कीले शाक्यलाई खर्चको ब्यवस्था गरेकाले पनि शाक्य चुकेको दावी महानगरका कर्मचारीको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने भने कार्कीलाई रमाना दिनुपर्ने पक्षमा छन् । यसअघि उनले तयार गरेको रमाना पनि मेयरले रोकेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ