arrow

पहिरोले लग्यो झुल्दै गरेको धान, गर्जो टार्ने धेरैलाई रुवायो

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
pahiro2.jpg

पाल्पा, रामपुर । पहिरोले रामपुर नगरपालिका ४ मा मुरलीडाँडा क्षेत्रको तल्लोभागमा झुल्दै गरेको धान पुरेको छ । कुनै पाकेर पहलो भएका त कुनै लहलह झुलेका धान सहितको झण्डै २३ रोपनी खेतमा पहिरोले क्षति पुर्‍याएको हो ।

आँटीघर खेतको झण्डै ८ रोपनी जग्गा सोमबार राती पहिरो जाँदा तल्लो भाग फड्यार खेतको १५ रोपनीमा धान लगाएको जग्गा पुरिएको हो । माथिल्लो भागमा रहेको १० रोपनी आँटीघर खेत मध्ये जीवनराज भण्डारीको ५ रोपनी, पूर्ण कुमारी दमैको २ रोपनी र शोभा खाँणको १ रोपनी खेतमा पहिरो गएको थियो ।

सोही पहिरोले तल्लोभागमा रहेको २२ रोपनी फड्यारखेत मध्ये रामपुर ४ का सूर्य बहादुर जिसीको ३ रोपनी, मन कुमारी शाहीको ३ रोपनी १३ आना, नर बहादुर सार्कीको ३ रोपनी १३ आना, मन बहादुर रुचालको ४ रोपनी धान सहितको खेत पुरेको वडा अध्यक्ष एक बहादुर नेपालीले जानकारी दिए।

 खेत भन्दा मुनी पानी रसाई रहने भएकोले पहिरो गएको नेपालीले बताए। धान लटरम्म फलेको थियो, अब केही समयमा स्याहार्ने गरि किसान दैनिक खेतमा पुगेर मुहान र पानी हेर्ने गर्थे उनले भने–यही धानबाट गर्जो टार्ने धेरैलाई रुवाएको छ । केही सहजताका लागि प्रहरीको सहयोगमा मुचुल्का उठाई पहल गरिएको उनले जानकारी दिए।

मध्य रातको समयमा पहिरो गएकाले पनि मानवीय क्षति हुनबाट जोगिएको छ । यस क्षेत्रमा बस्ती भने छैन । पहिरोका कारण खेत भन्दा तलको पाटीखोला केही समय थुनिन पुगेको स्थानीयले बताएका छन् । केही समयपछि खोला आफ्नै गतिमा बगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ