arrow

रेनु दाहालको महानगरपालिकाले यसरी राख्दैछ कीर्तिमान

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
Bharatpur_Mahanagarpalika.png

चितवन । भरतपुर महानगरपालिकालाई यही कात्तिक ९ गते शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारीरूपमा गृहकार्य गरी घोषणाको तयारी गरेको बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।     
     
सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरु गरिएको छ । सो क्रममा बुधबारसम्म २५० जनालाई उद्धार गरिएको जानकारी दिइएको थियो ।     
     
उनीहरुमध्ये जम्मा आठ जना मात्रै वास्तविक अभिभावकविहीन रहेको पाइएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । अन्य मादक पदार्थ सेवन गरेर बस्ने, थोरै रकममा श्रम गर्ने, रोजगारीका लागि सदरमुकाम आएका, फिरन्ते र मगन्ते रहने गरेका छन् । 

२०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० जनालाई पुनःमिलन गराएको छ भने अहिले एक सय जना आश्रममा आश्रित रहेका छन् । आश्रमको क्षमता भने ५५ जनाको रहेको छ ।     
महानगरप्रमुख रेनु दाहाल (नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री) ले महानगरको क्षेत्र ठूलो भएकाले शहरदेखि गाउँसम्म यो अभियान सञ्चालन गरिएको बताइन् । उनले आगामी दिनमा महानगरले आफ्नै केन्द्र स्थापना गरी व्यवस्थापन गर्ने बताइन् । 

हाल मानव सेवा आश्रममा त्यस्ता व्यक्तिहरुलाई राखिँदै आएको छ । मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । 

स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाइएको हो । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बन्नेछ ।     
     
विसं २०६९ भदौ १३ गते मकवानपुरबाट मानव सेवा आश्रमले काम थालेको हो । अध्यक्ष अधिकारीका अनुसार हालसम्म ७ प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् । 

भरतपुर महानगरपालिकामा आयोजना गरिने घोषणा कार्यक्रमअघि नारायणगढको क्याम्पाचौरबाट र्याली निकालेर महानगर कार्यालयमा आई घोषणा सभामा परिणत हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ