arrow

सत्ता र शक्तिका आडमा डोजर काण्ड – कांग्रेस  

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली काङ्ग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ । 

काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको जिकिर गरेको छ । 

डोजर मालिक आफैले दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उनलाई सत्ताकै मान्छेहरुले डोजर चलाउन दबाब दिएको बुझिएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताए । उनले भने, “डोजर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर डोजर चलाएको हो भनेकाले यसमा सत्ताका मान्छेहरुको संलग्नता रहेको छ ।” ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको काङ्ग्रेसले आरोप लगाएको छ ।     
     
पत्रकार सम्मेलनमा संयोजक थापाले जग्गाधनी असोज २७ गते प्रशासनमा आएर ‘हाम्रो गाउँमा समस्या छ, मिलाइदिनु’ भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको थापाको भनाइ छ । 

सडक निर्माणका लागि कुनै बजेट र योजना बिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको र एक महिला घाइते भएको काङ्ग्रेसको छानबिन टोलीले बताएको छ ।     
     
घटनामा सडक निर्माण पक्षले जबर्जस्ती गर्न खोजेको संयोजक थापाले बताए । “दुवै पक्षबीच सहमति नभई डोजर चलाउनाले अहिले सामाजिक सद्भावमा नै समस्या ल्याएको छ”, उनले भने, “स्थलगत रिपोर्टिङ गरेपछि अब स्थानीय प्रशासन, राजनैतिक दल र अन्य सरोकारवालाहरुसँग बसेर प्रतिवेदन बनाइनेछ ।”     
     
ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि काङ्ग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी सङ्कलन गरेको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ